२०८१ असोज २१ गते सोमवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने



दाङ,५ असाेज।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम गर्दै एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.भरत यादव नेतृत्वको ११ जना विज्ञ रहेको समूहले उक्त पाठ्यक्रम बनाएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकाश लामिछानेले प्रतिष्ठानले नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा एमएस र एमडी गरेकालाई एक वर्षको जेरियाट्रिकमा फेलोसिप कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताउनुभयो।

रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका विषयवस्तु पनि समावेश हुनुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो।
नेपालमा विस्तारै ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतले उनीहरुको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले बेलैमा त्यसको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनमा संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले देशको जनसंख्याको कुल १० प्रतिशत ज्येष्ठ नागरिक भएको तथ्यांक सुनाउदै उनीहरुको स्वास्थ्य र हेरचाहका लागि राज्यले दीर्घकालीन नीति आवश्यक रहेको बताउनुभयो।

ज्येष्ठ नागरिक विज्ञ डा. रमेश कँडेलले देशका ६१ वटा अस्पतालमा जेरियाट्रिक वार्ड रहेको जानकारी गराउदै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना जेरियाट्रिक विज्ञमध्ये अहिले तीन जना मात्र कार्यरत रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार