दाङ, २६ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ ले सडक कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । चालु वर्षको सुरुमै १२ नंम्बर वडाको धेरै सडकमा कालोपत्रेको काम सुरु भएको वडा अध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।
वडा कार्यालयको पहल तथा नगरस्तरीय सडक बोर्ड नेपाल अन्तर्गत तुलसीपुर १२ को शैक्षिक तालिम केन्द्र नजिकै रहेको शिव मन्दिरदेखि राप्ति बबई क्याम्पससम्म सडक कालोपत्रेको काम भइरहेको छ ।
अहिले करिब दुई सय मिटर सडक कालोपत्रेको काम सुरु भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । नगरस्तरीय सडक बोर्ड नेपालको १८ लाखको लागतमा सडक कालोपत्रेको काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।
सडक कालोपत्रेको जिम्मा अंकित एण्ड जेनिसा निर्माण सेवाले लिएको छ । अहिले सडकको एकतर्फि कालोपत्रेको काम हुँदै छ । दशै अगाडि नै काम सकिने उहाँले जानकारी दिनुभयो ।
यस्तै शिव मन्दिरदेखि उत्तर तिर जाने बाटोको नाला निर्माणको लागि वडाले ३ लाख बजेट छुट्याइएको चौधरीले बताउनुभयो । उक्त बजेटले १५० मिटर नाला निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । नाला निर्माणको काम छिटै सुरु हुने उहाँको भनाई छ ।
यस्तै राप्ती बबई क्याम्पसदेखि सिप विकासतर्फ जाने बाटोको लागि सघन सहरी विकास डिभिजन कार्यालयको ३५ लाख बजेट परेको छ । पक्की नाला र आरसीसीको लागि उक्त बजेट परेको हो ।
सोहि सडकको बिचमा पर्ने बौराही सोतामा कल्भर्ट निर्माणको लागि पनि बजेट परेको छ । वडा नंम्बर ६ र १२ को सिमानामा रहेको बौरही सोताको कल्भर्ट निर्माणको लागि प्रदेशको १५ लाख बजेट रहेको छ ।
यस्तै कपडादेविको थारु गाँउदेखि ग्वारखोला पुलसम्म कालोपत्रे र नाला निर्माणको लागि ५० लाखको बजेट परेको छ । गतवर्ष १२ नंम्बर वडाले दुई किलोमिटर सडक कालोपत्रे र ९ सय २० मिटर नाला निर्माण गरेकोे जनाएको छ ।