२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा अधिकांश स्वास्थ्य संस्थामा रेडियोलोजिष्ट डाक्टरबिनै भिडियो एक्सरे



तुलसीपुर, १७ मंसिर ।
तुलसीपुरका अधिकांश स्वास्थ्य संस्थामा भिडियो एक्सरे गैह्रकानुनी रुपमा गर्ने गरिएको भन्दै नेपाल रेडियोलोजिष्ट एशोशियसन (एनआरए) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य संस्थामा नेपाल सरकारबाट इजाजत नलगी आफै पद धारण गरेको सोनोलोजिष्ट अर्थात अनधिकृत चिकित्सकबाट भिडियो एक्सरे गरी उपचार गराउने गरिएकोले एनआरएले त्यसप्रति ध्यानाकर्षण जनाएको हो ।

एनआरएले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गम्भिर बन्न सम्बन्धित स्वास्थ्य संस्था तथा त्यस कार्यमा संलग्न चिकित्सकलाई आग्रह गरेको छ । कसैले पनि कानुनको दुरुपयोग गरी अनधिकृत गैरकानुनी रुपमा भिडियो एक्सरे गराउने कार्य गरेमा नेपालको प्रचलित कानुन बमोजिम कार्बाही हुने एनआरएले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तर तुलसीपुर क्षेत्रमा केहि स्वास्थ्य संस्थामा रेडियोलोजिष्ट बिनै भिडियो एक्सरे गर्ने गरिएको एक रेडियोलोजिष्ट डाक्टरले बताए । ‘कोहि व्यक्ति तथा संस्थाप्रति लक्षित होइन्, तर स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खेलवाड गर्ने छुट कसैलाई छैन् ।’ उनले भने(‘यदि कसैले पनि त्यस किसिमको कार्य गरिरहेको छ भने त्यो बिरामीको हित बिपरितको कार्य हो ।’ तुलसीपुरमा पाँच जनामात्रै रेडियोलोजिष्ट डाक्टर रहेको उनले बताए । त्यसबाहेकका स्वास्थ्य संस्थामा गैह्रकानुनी ढंगले बिरामीको भिडियो एक्सरे गर्ने गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० को दफा २३ को उपदफा २ (ग) को १ र २ मा नेपाल मेडिकल काउन्सीलमा दर्ता रहेका आधिकारिक रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे गर्ने प्रावधान छ ।

तुलसीपुरमा केहि बाहेक अधिकांश स्वास्थ्य संस्थामा अनधिकृत गैह्रकानुनी व्यक्तिबाट भिडियो एक्सरे गर्ने, उनीहरुले हस्ताक्षर गरेको रिपोर्टको आधारमा उपचार गर्ने गरिएकाले पनि सम्बधित बिरामीलाई सचेत हुन एनआरएले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार