काठमाडौं,१८ मंसिर ।
अक्सिजन शरीरको लागि एकदमै आवश्यक तत्त्व हो । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको मात्रा कायम हुनुपर्छ । किनभने शरीरमा अक्सिजनको मात्रा घट्दा सबैभन्दा बढी असर हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पर्छ ।
शरीरमा अक्सिजनको स्तरले हाम्रो रगतबाट शरीरभरि कति अक्सिजन फैलिरहेको छ भनेर बताउँछ । शरीरमा अक्सिजन पुर्याउने काम रातो रक्त कोषिकाले गर्छ, तिनीहरूले फोक्सोबाट अक्सिजन लिएर शरीरको हरेक कोषमा पुर्याउँछन् । कोषिकाहरुलाई ऊर्जा उत्पादन गर्न अक्सिजन चाहिन्छ । जबसम्म शरीरमा अक्सिजनको मात्रा सामान्य रहन्छ, तबसम्म शरीर स्वस्थ रहन्छ ।
कति हुनुपर्छ शरीरमा अक्सिजन ?
औंलामा नाप्ने पल्स अक्सिमिटरले मापन गर्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेवल ९५ देखि ९८ प्रतिशतसम्म हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या हुँदा शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । समुन्द्री सतहमा बसेको मान्छेको अक्सिजन लेवल ९७ प्रतिशत हुन्छ ।
अलिकति उचाइको पहाडी क्षेत्रमा बसेको मान्छेको अक्सिजन लेवल ९५ देखि ९८ को रेन्जमा हुन्छ । धेरै उचाइ सगरमाथा वा बेस क्यापमा भएका मान्छेमा अक्सिजनको मात्रा ८५ प्रतिशत जति पनि हुन सक्छ । उचाइले हावामा अक्सिजनको चाप र बिरामीको अवस्थाले शरीरमा अक्सिजनको मात्रा निर्धारण गरेको हुन्छ ।
कसैलाई लामो समयदेखि फोक्सोको समस्या छ भने उनीहरूमा ९० प्रतिशत अक्सिजन छ भने पनि त्यो सामान्य नै हो । तर कसैलाई निमोनिया भएर अक्सिजन घटेको छ भने त्यस्तो व्यक्तिलाई अतिरिक्त अक्सिजन नै दिनुपर्ने हुन सक्छ ।
शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ?
अक्सिजनको कमी भएमा कतिपयलाई सास फेर्न गाह्रो हुन थाल्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन्छ, जसले गर्दा बेचैनी र घबराहट बढ्छ । यस्तो अवस्थामा मुटुको धड्कन असामान्य रूपमा बढ्छ । साथै अन्य लक्षण टाउको दुख्ने, छाती दुख्ने, दृष्टिमा समस्या, चक्कर लाग्ने र बेहोस भएर ढल्ने पनि हुन्छ ।
शरीरमा अक्सिजनको कमी हुनुको कारण के हो ?
वायुमण्डलमा अक्सिजनको कमी भयो भने वा विभिन्न स्वास्थ्य समस्यामा शरीरमा अक्सिजनको कमी हुन सक्छ । हामी धेरै उचाइमा गयौं भने त वायुमण्डलमा नै अक्सिजनको कमी हुन्छ र शरीरमा पनि कमी हुन्छ ।
झ्याल-ढोका बन्द गरेर ग्यास गिजर वा हिटर बाल्दा कोठामा अक्सिजनको कमी हुन्छ र शरीरमा पनि अक्सिजन कम हुन्छ।
विभिन्न समस्याका कारण फोक्सोले राम्रोसँग काम नगर्दा पनि यो समस्या हुन सक्छ । फोक्सोमा रक्तसञ्चार राम्ररी नपुगेमा शरीरमा अक्सिजनको कमी हुन्छ ।
शारीरिक रूपमा सक्रिय नहुने मानिसको पनि शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । फोक्सोको दीर्घकालीन रोगहरू निमोनिया, दम रोगमा पनि शरीरमा अक्सिजनको मात्रा घट्छ । फोक्सोको बाथ रोग भएर अक्सिजन रगतमा पुग्न नपाउँदा वा मुटु रोग भएकाहरूमा पनि अक्सिजनको कमी हुन सक्छ ।
यदि आहारमा आइरनको मात्रा कम छ भने रगतमा अक्सिजनको मात्रा कम हुनेछ । आइरन रातो रक्त कोषिकाहरुको एक प्रमुख तत्त्व हो । रातो रक्त कोषिकाहरुले फोक्सोसहित सम्पूर्ण शरीरमा अक्सिजन प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ?
शरीरमा अक्सिजनको कमी हुनु भनेको आकस्मिक अवस्था हो । त्यसैले अस्पताल पुग्नुभन्दा अघि घरमै केही प्राकृतिक विधिबाट शरीरमा अक्सिजन आपूर्ति गर्न सकिन्छ । घरमा अक्सिजनको मात्रा बढाउन झ्याल-ढोका र भेन्टिलेटर खुल्ला छोड्नुपर्छ । हिटर, गिजर चलाएको छ भने बन्द गर्नुपर्छ । घरमा अक्सिजनको मात्रा बढाउने स्नेक प्लान्ट, मनी प्लान्ट जस्ता बिरुवा रोप्नुपर्छ ।
छातीमा खकार जमेर श्वासप्रश्वासमा समस्या भएको छ भने खोकेर त्यो खकार बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । लामो सास फेर्नुपर्छ । शरीरमा अक्सिजनको कमी भयो भने कोरोना संक्रमणको बेलामा एकदमै प्रचलित विधि घोप्टो परेर सुत्ने त्यो पनि गर्न सकिन्छ । घोप्टो परेर सुत्दा शरीरमा अक्सिजन बढाउन मद्दत गर्छ ।
कसैलाई दम रोग छ र शरीरमा अक्सिजनको कमी भएको छ भने ‘नेबुलाइजर’ बाफ लिने मेसिन र तान्ने औषधिको प्रयोग गरेर पनि शरीरमा अक्सिजन बढाउन सकिन्छ । यी औषधिले श्वास नलीलाई फुलाउँछ र अक्सिजन शरीरमा पुग्छ ।
यी सबै अस्थायी विधि हुन कुनै रोगको कारण शरीरमा अक्सिजन कमी भएको हो भने त्यो रोग पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । साभार :अनलाईनखवरबाट