रुकुम पश्चिम, १९ मंसिर ।
रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय फैसला गरेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर साढे तीन वर्षअघि भएको घटनामा ६ जनाको मृत्यु भएको थियो ।
सो घटनामा कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।
आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा आज अन्तिम आदेश आएको हो । ३ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
उक्त घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए भने ३ जना थुनाबाहिर थिए । ती ३ जनालाई जातीय छुवाछुतको कसूरमा २ वर्ष कैदको सजाय सुनाइएको छ ।
दोषीहरुबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।