२०८१ माघ ४ गते शुक्रवार

दाङमा वडाअध्यक्षले खोलामै पढाउन थालेपछि….



दाङ, १८ पुस ।
वारीपारी घनावस्ती । बिचमै छ पातुखोला । खोलाको बिच भागमै किताब कापी लिएर पढ्न बसे विद्यार्थी । यो कुनै न चलचित्रको छायाँकन थियो न त विद्यार्थीलाई कक्षा कोठा अभाव भएर खोलामा पढ्न गएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका विद्यार्थी पातुखोलामा पढ्न गएका हुन् ।

पातुखोलामा पुगेका विद्यार्थीलाई तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले पढाउन थाले ।

कक्षा ७ पढ्ने गौरब भुषालले खोलामै आएर पढ्न पाउँदा सजिलो गरी बुझ्न पाएको बताए । ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाएका छौँ ।’ उनले भने(‘खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु , यसबाट धेरै फाइदाहरु रहेछन् ।’

यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा वातावरणको संरक्षण राम्रोसंग भएको छैन भन्ने सरले पढाउने गर्नुभएको तर आज खोलामा आएर पढ्दाखेरी वास्तविकता बुझ्न पाएको बताईन् । ‘सरले कक्षा कोठामा पढाउँदा खेरी होला तो भन्ने लाग्थ्यो , सत्यकुरा फिल्डमै आउँदा झन् धेरै बुझ्ने मौका पाएको छु ।’

विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताए । ‘विषय अनुसार फिल्डमै गएर पढाउने सायद नेपालमा हामी नै पहिलो हौँ।’ उनले भने(‘विद्यार्थीलाई किताबी ज्ञान बन्द कोठाबाट मात्रै दिनुभन्दा विषयवस्तु अनुसार फिल्डमै गएर पढाउँदा विद्यार्थीले सहजरुपमा बुझ्ने अपेक्षा छ ।

पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा शुरुवात गरेको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताए । ‘पाठमा भएका कुरा कक्षाकोठामा मात्रै सिकाउँदा प्रभावकारी हुँदैन् ।’ उनले भने(‘पाठ अनुसार कक्षा फिल्डमै पढाउँदा निकै प्रभावकारी हुन्छ ।’ उनले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गरे ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले विद्यार्थीलाई व्यवहारिकरुपमा ज्ञान सिकाउनमा सगरमाथा स्कुलको भूमिका प्रभावकारी बन्दै गएको बताए ।

विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताए । उनले यस कामलाई निरन्तरता दिने बताए ।

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार