
दाङ, २९ पुस ।
लागूऔषध नियन्त्रण गर्न सबैको साथ आवश्यक रहेको सरोकारवालाले बताएका छन् । प्रदेश, स्थानीय तह र सुरक्षा निकायसंगको समन्वय र सहकार्यमा दाङको देउखुरीमा भएको लागूऔषध नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले लागुऔषध नियन्त्रण चुनौतिपूणर् बन्दै गएकोले नियन्त्रणका लागि सबैको सहयोग अनिवार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशका गृह सचिव लालबहादुर कवारीले लागू औषधले समाजमा विभिन्न समस्या निम्त्याएको बताउनुभयो । उहाँले लागूऔषधको लतमा युवा पुस्ता फसेको भन्दै यस्लाई न्यूनीकरण गर्न स्कुलतहबाट सचेता फैलाउनु पर्ने बताउनुभयो ।
लागूपदार्थ सेवन यस्को दूव्र्यसनी रोक्नको लागि अभिभावक सचेत भए मात्र यो विकृती अन्त्य हुने उहाँको भनाइ छ । अहिलेको समयमा अभिभावक, शिक्षक र विद्यार्थी र सरोकारवाला सबैको साझा अभ्यासले लागू औषध नियन्त्रण गर्न सकिने बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लागू औषध सम्बन्धि जनचेतना मूलक सामाग्रीका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले लागू पदार्थ सेवनले मानिसलाई झुट बोल्न, चोर्न र विस्तारै अपराधीक क्रियाकलापमा संलग्न गराउने र पछि गएर समाजमा यिनैले अपराधिक घटना घटाउने बताउनुभयो । शारीरिक, मानसिक सामाजिक आर्थिक र कानुनी रुपमा असर पुगेको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लागुऔषध दुव्र्यसनबाट बालबालिकालाई बचाउनका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो।
नयाँ पाइला पुर्नस्थापना केन्द्रका प्रमुख सुरेश भुषालले लागू औषध प्रयोगबाट बचाउन मुख्युतः घर परिवारले ख्याल राख्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सुधार केन्द्रमा आउने अधिकांश युवाहरु डिप्रेसनमा गएको अवस्थामा मात्र आइपुग्ने गरेको बताउनुभयो ।
गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकारी अम्मरराज शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यलय दाङका प्रशासकीय अधिकृत बिजय गौतमले गर्नुभएको हो ।