२०८० फाल्गुन १३ गते आइतवार

माघी पर्व र थारु लोक सस्ंकृतिको चर्चा



दाङ,१ माघ ।

मकरसक्रान्ति बाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघ हो । यो थारु समूदायका लागि आर्थिक बर्षको सुरुवात पनि हो । माघ सक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवश हो पनि भनीन्छ । यो एक सामाजीक,सांस्कृतिक सद्भाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन् त्यसैले एक-दुई महिना अघि देखी नै तयारीमा जुट्छन् ।

थारुहरुले माछालाई प्रमूख खाने परिकारको रुपमा लिने गरेकाले दुई महिना अघि नै नजीकैको खोला, नदिमा बाँध बाँधि वनस्पतिका हाँगाबिगा पानीमा राखी माछा पाल्ने गर्दछन् । जसलाई थारुहरु “भिउरा डर्ना” भन्दछन् । यस पर्वमा जाँड लाई पनि मूख्य खाने कुराको रुपमा लिईन्छ । त्यसैले जाँड बनाउने, पिठो पिसाउने, वन बाट साल (सँख्वा) र मालुका (नम्हेनी) को पात ल्याएर दुना टपरी खुट्ने,मासु, ढिक्री पकाउनलाई दाउरा ल्याउने गरिन्छ ।

थारु समुदायले मनाउने पर्व मध्ये यो पर्वलाई मुख्य पर्वका रुपमा लिने गरेको थारु सस्ंकृतीविद्ध अशोक थारु बताउँछन् । त्यसैले उनीहरु माघ महिना नलाग्दै यस पर्वको तयारीमा जुट्छन् । घरकी वृद्ध महिलाले बैठक कोठा (बह्री) मा बसेर साधारण तरकारी चट्नी खाने चिह्री डोनी (नो आकारको दुनो) र जाँड,मासु खान डोस्टी डोनी (ठूलो आकारको दुनो) र भात, खिचडी,रोटि खान टपरी खुटिरहेकी हुन्छिन् ।

यो पर्व नजिकिनु पूर्व नै गाँउका घरमूलीहरु (गरढु¥या) मटाँवा (गाँउमूली)को घरमा भेला भएर (ख्याला कर्ना)कसले कती माशु खाने रु कसको घरमा कती वटा सुंगुर छ ? माग अनुसारको मासु नपुगे अनेत्रबाट ब्यवस्थापन गर्ने कि भनेर योजना बनाउने गर्ने गरेको थारु अगुवाहरु बताउँछन् । थारुहरु यो पर्वमा खानपिन को साथसाथै मनोरञ्जन,नयाँ कार्यको सुरुवात गर्ने भएकाले पाँच दिन धुमधामका साथ मनाउने गर्दछन् ।

पहिलो दिन
पौष महिनाको अन्तिम दिन माघ पर्वको पहिलो दिन यस दिनमा सुंगुर मारेर मासु खाई पर्व मनाउने भएकाले यस दिनलाई “जिटा मर्ना डिन” भनिन्छ । गाउँका गरढु¥याहरु सुंगुर मारी मासु बाट्ने र अन्य सदस्यहरु नदि खोलामा “भिउँरा” माछा मार्न जान्छन् र घर गढुर्न्या (घरमूली महिला) ढिक्री बनाउन ब्यस्त देखिन्छीन् । ढिक्री धेरै प्रकारका भएपनि माघीमा लठ्ठी आकारको “लठ्ठा ढिक्री” मात्र बनाउने गरिन्छ ।

बालबच्चाहरु गाँउघरमा खेल्न मस्त देखिन्छन् । आज साच्चीकै गाँउ घर रमाईलो देखिन्छ । सबैको घरघरमा मिठो मिठो परीकार पाकेको हुन्छ । जबजब साझँ पर्दै जान्छ घरका सबै सदस्य बैठक कोठा (बह्रि) मा जम्मा हुन्छन् खानपीनका लागी घरमूलीकी पत्नीले (गरढुन्र्या) माछा,मासु,ढिक्री आदि खानेकुरा सबैलाई बराबर दिई आफू पनि खान बस्छिन् ।

यसरी रमाउदै खादैँ बर्षभरीको थकान मेटाउँदै एक आपसमा मेलमिलाप भाइचाराको भावना दर्शाउछन् । आफनो घरमा खानपीनपछि एकले अर्काको घरमा गई माघी मान्ने क्रम शुरु हुन्छ । गाउँघरमा मेलमिलापको भावना देखाउदै बर्षभरीको रीसराग मेटाउँछन् । जाँड लागेर आफु हिड्नै नसक्ने अबस्थामा पुगेका थारुहरु एकले अर्कोलाई डो¥याएर आफनो घरमा लगी फेरी त्यहि जाँड माछा मासु खान दिन्छन् ।

एक आपसमा कुरा गर्छन केहि बितेका कुरा केहि आउने कुरा नसामा लट्पटिएको अस्पष्ट बोली सुनिरहुँ लाग्छ । यसरी एक अर्काको घरमा जाने खाने गर्दागर्दै रात ढल्केको पत्तै हुदैन । बर्षभरीको थकाई मेटाउँने पर्वको रुपमा लिने थारुहरुको आँखामा निन्द्रा नभई आलस्य मात्र देख्न सकिन्छ ।

उसो त जाडोको याम भएकाले प्रोढ तथा बुढापाकाहरु गोलबद्ध भई आगो ताप्दै “ढुमरु” थारु शास्त्रीय गीत गाउँन थाल्छन् । थारु लोक बिधान अनुसार यो गीत आजकै दिन देखी गाउन शुरु गरिएको थारु लोक सस्ंकृतिबिद् अशोक थारु बताउँछन् । ढुमरु गितको दुई हरफ यस्तो छ ।

अट हे लाला रे पुरुवक डेश कुम्हारा वहुट
कुम्हरक जाट रहठ रीसाहा

दोस्रो दिन
माघ महिनाको पहिलो दिन अर्थात माघ पर्वको दोस्रो दिन खानपीन गर्दा गर्दै ढुमरु गाउँँदा गाउँदै “कुखुरी ऽऽकाँ” थारुहरुको घडीले एलार्म बजाउँछ । एउटा कुखुरा बोले पछि गाँउभरीका कुखुराहरु त्यसैगरी बास्न थाल्छन् । माघ पर्वको दोस्रो दिन यसरी सुरु हुन्छ । गाउँका सबै जना नजिकैकौ खोला,नदीमा नुहाउन जान्छन् । माघ महिनाको कठ्याङ्ग्रीदो जाडोमा

“सखी ए हो ! माघक पिली गुरी जाँर , सखी ए हो”
अर्थात् ए सखी ! माघ पर्वको उल्लासमा मीठो मीठो जाँरको झोल पिएका छौँ हामीले त ।

गीत गाउँदै घरघर बाट वालवालिका,युवायूवती प्रोढप्रोढा सबै रमाउदैँ जाने नुहाउने आउने गर्नाले पनि जाडो भएको महशुस गर्दैनन् । नुहाई सकेर द्रब्य दान गरेर आ आफनो घर फर्किन्छन् । थारुहरुको हरेक कार्यमा गाईने गीत हुन्छ । नुहाएर फर्किदा टोपी पानीघाटमै छुट्यो कि भन्दै यसरी गीत बाटै सोध्छन् ।

“बाबाकी सगरवा मुरिया लहान गैनु हाँ
सखी ए हो ! टोपिया छुटल पानी घाट,सखी ए हो ”
अर्थात–बुवा म खोलामा नुहाउन गएँ तर कुन घाटमा गएँ र मेरो टोपी कहाँ छुट्यो मैले बिर्सेँ । ए सखीहरु तिमीहरुले मेरो टोपी देख्यो कि ?

नुहाएर घर आएपछि छुट्टा छुट्टै ढक्यामा राखिएको चामल,उर्दको दाल,नुन एकएक पसर निकालि छुट्टाछुट्टै टपरीमा राख्छन् । यसलाई थारुहरु “निस्राउ कहर्ना” भन्दछन् । यसरी निकालिएको दाल,चामल चेलीवेटीलाई दिने गरिन्छ ।

त्यसपछि आफू भन्दा ठूला मान्यजनलाई ढोकभेट गर्छन् । त्यसपछि खाने कार्य सुुरु हुन्छ । घरका बुहारीहरु आफू भन्दा ठूलालाई मान मर्यादापूर्वक खाने कुरा दिन्छन् । आजको खाने कुरामा ढिक्री ,मासु, खिचडी,अनदीको रोटी,जाँड विशेष हुन्छ । विहानै यि खाने कुरा खाईसकेपछि दिउसोको खाना खाने समय हुन्छ । जसलाई थारुहरु “कल्वा खईना” भन्दछन् ।

सबैजना सँगै बसी फेरी खाना खान थाल्दछन् । यसरी सँगै खाना खानु थारुहरुको पुस्तौँदेखिको चलन हो । यसरी खाईसकेर थारुहरु उमेरगत रुपमा आफनो ग्रुप बनाई मघौटा नाच नाच्न शुरु गर्छन । नाच्ने नर्तकीले लहंगा,चोल्या,सिरमा घुम्टो (घुर्घुट ),काँधदेखि कम्मर सम्म “सटकी” हुन्छ । अरु थारु गरगहनाले सजाईएको हुन्छ । मादले पुरुष होस वा महिला कम्मरमा मादल बाधेँको हुन्छ ।

समूहमा कसैले झ्याली कसैले कस्टार बोकेका हुन्छन् । एउटाले गीतको बोल उठान गर्छ भने अरुले त्यो बोललाई टिप्छन् । यसरी प्रत्येक घरघरमा नाँच्दै,अनदीको झोल पिउँदै थारुहरु रमाउँछन् ,जसलाई “माघ मन्ना”भनिन्छ ।

निस्राउ

तेस्रो दिन
माघ महिनाको दोस्रो दिन तर माघ पर्वको तेस्रो दिनलाई थारुहरु “माघी डेवानी” भन्दछन् । आजको दिन घरघरका गरढु¥याहरु माटोको भाँडोमा जाँड रक्सी ,बाँसको सानो छिट्नीमा तरकारी लिएर मटावाँको घरमा जम्मा हुन्छन् । गाउँको प्रमूख मटाँवा र गाउँलेहरु बिच आज बितेको बर्षको कार्य समिक्षा ,भावी कार्य योजना,नयाँ कार्यको थालनी गर्ने लगाएतका बिषयमा ब्यापक छलफल हुन्छ ।

मटावाँको घरमा माघ मनाउदै गाउँघरमा हुने नयाँ योजनाको कार्यान्वयन कसरी गर्ने रु गाउँ ब्यवस्थापन देखि लिएर घर ब्यवस्थापनसम्मका विषयमा छलफल हुन्छ । यसरी समूदायमा आपसी सद्भाव बढाउनका लागि यो पर्वको महत्व छ ।

चौँथो दिन
आज माघ महिनाको तेस्रो दिन तर माघ पर्वको चौँथो दिन अर्थात अन्तिम दिन । आजको दिनलाई “जन्हीनक माघ” अर्थात महिलाहरुको माघ भनिन्छ । अरु समयमा काम बाट उन्मूक्ती नपाउने थारु महिलाहरु आजको दिन पूर्ण रुपमा स्वतन्त्र हुन्छन् ।

त्यसैले आफनो उमेरगत समूह बनाई महिला यूवतीहरु माघ पर्वमा जाँड पिएर स्वतन्त्रतापूर्वक हिड्ने र बोल्ने गर्छन् । थारु महिलाहरुले आजको दिनलाई स्वतन्त्रताको दिनको रुपमा लिन्छन् ।

बृद्धाहरु भने योवनावस्था संम्झीन्छन् एकै ठाउँ बसेर मघौटा गीत गाउँछन् । जाँडको झोलले लरबरीएका बृद्धहरु मानसिक रुपमा यसरी नै रमाउँछन् । रात न दिन महिलाहरु आज एक गाउँबाट अर्को गाउँ सम्म पुग्छन् । यसै मघौँटा नाचलाई माध्यम बनाएर कैयौँ यूवायूवती माया पिरतीमा बाँधिन्छन् ।

एकदमै गरिबीको रेखामूनी रहेका छोरीहरु भने आजको दिन आफनो नयाँ लुगा गहना नभएकोले बुवा आमा संग गुनासो गर्छन् । साथीहरुको “गोहि” अगाडि आफ्नो केहि नभएको महशुस गर्छन् । जसको लगन जुरेको हँुदैन उनीहरु गीतको माध्यम बाट यसरी अभिब्यक्त गर्छन् ।

सेंडुरा लेमङ्गु बाबा सेंडुरा नैलेडेल्या रे हाँ,सेंडुरा लेमङ्गु बाबा
सेंडुरक कारन बाबा छोरीडेबु डेशवा टुहाँर,सखी ए हो

अर्थात–बाबा मेरो उमेर बढिसक्यो यो उमेरमा हरेक छोरीलाई सिन्दुरको चाहाना हुन्छ । यो कुरा तिमी बुझ्दैनौँ त्यसैले यहि सिन्दुरको कारणले तिम्रो देश छोडेर जान्छु । ए साथीहरु यो कुरा मेरो बुवालाई भनिदेउ न ।

हरेक मान्छेको जिवनको सुख दुःख पोख्ने पर्व हो माघ पर्व । थारुहरु यसरी नै माघ पर्वलाई ब्यबस्थापन,सद्भावको रुपमा लिने गर्दछन् । थारु लोकजीवनमा माघ पर्व कसरी आयो यो भने खोजी गर्नुपर्ने देखिन्छ ।

पछिल्लो समय ढुमरु गीत गाउँने परम्परा विस्तारै हराउँदै गएको देखिन्छ पहिलेका बुढापाकाहरुले यो गित गाएपनि पछिल्लो पुस्तामा यो हस्ताणतरण हुन सकेको छैन । माथिका अनुच्छेद अनुशार माघ पर्व मनाउँने परम्परा भएपनि ढुमरु गाउँने प्रचलन भने हराउदै गएको कतीपय थारु अगुवाहरुको ठहर छ ।

यस्तै मघौटा नाच भने फेरि पनि प्रचलनमा आईसकेको पाईन्छ । केहि वर्ष अघि नेपाली गित संगीतमा नाच्ने युवाहरु सांस्कृती कार्यक्रममा पहिलेकै मघौटा नाचको अत्यधिक माग भएकाले यो नाच फेरि पनि जुर्मुराएको छ । यस्तै पछिल्लो वर्ष माघ पर्व मेला र महोत्सवमा केन्द्रित भएपछि पुराना नाच र गितहरु म्होत्सवमै सुन्न र देख्न पाईन्छ ।

 

 

 

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार