दाङ, १ फागुन ।
तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेमा रहेको जनश्रम माविमा एक लाख राशीको ‘इन्द्रकौशिला’ अक्षयकोषको स्थापना गरिएको छ ।
विद्यालयका पुर्व प्रधानाध्यापक डा.शालिकराम न्यौपाने र उहाँका भाई चन्द्रकुमार न्यौपानेले स्वर्गीय बुवा इन्द्रलाल न्यौपाने तथा स्वर्गीय आमा कौशिला देवी न्यौपानेको स्मृतिमा ‘इन्द्रकौशिला’ अक्षयकोष स्थापना गर्नुभएको हो ।
स्थापना भएको अक्षयकोषबाट हरेक वर्ष कक्षा १ देखि ५ कक्षासम्म पढ्ने दुई जना छात्र र दुई जना छात्रा सहित ४ जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।
शिक्षा ग्रहणका लागि कुनै पनि बालबालिका आर्थिक अभावकै कारण बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयमा अक्षयकोषको स्थापना गरिएको अक्षयकोषदाता डा.शालिकराम न्यौपानेले बताउनुभयो ।
न्यौपानेले वि.सं. २०६१ सालदेखि २०७९ चैतसम्म सोहि विद्यालयमा करिब १९ वर्ष शिक्षण गर्नुभएको थियो । वि.सं. २०६३ सालदेखि उहाँ १७ वर्ष प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको थियो ।
अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक विकासमा पुर्याएको योगदानको सम्मानस्वरूप विद्यालयले अक्षयकोषदातालाई धन्यवाद ज्ञापन गरेको छ ।