२०८१ माघ १२ गते शनिवार

गुरु जजुरको वार्षिकोत्सवमा निवर्तमान वडा अध्यक्ष राना सम्मानित



तुलसीपुर–११ फागुन ।
गुरु जजुर नमुना माध्यामिक विद्यालयले ६९ औँ वार्षिकोत्सबका अवसरमा तुलसीपुर उपमहानगरपालिका-४ का निवर्तमान वडा अध्यक्ष वालकृष्ण राना(ध्रुव) लाई सम्मान गरेको छ ।
आज शुक्रवार तुलसीपुर-४ रक्षाचौर स्थित विद्यालय प्राङ्गनमा भएको कार्यक्रममा तत्कालिन अवस्थामा अध्यक्ष पदमा रहदा विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा पुर्याएको योगदानको कदर स्वरुप ६९ औँ वार्षिकोत्सवका अवसरमा राना सम्मानित हुनुभएको हो ।

उहाँलाई लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गर्नुभएको हो ।

गुरुजजुर नमुना माविको नयाँ भौतीक संरचना व्यवस्थापन गर्न हाईटेन्सन लाईनले समस्या भैरहेको बेला उहाँकै कार्यकालमा विद्युत कार्यालय संग समन्वय गरेर सो क्षेत्रबाट हाइटेन्सन लाइन अन्यत्र विस्थापन गरिएको थियो ।

जनप्रतिनिधि निर्वाचित भएर आउनु अघि नमुना विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेलमैदानको समस्या रहेको थियो । सोही समस्यालाई बोध गरेर उहाँ वडा अध्यक्ष भएकै समयमा वडाको समन्वयमा विद्यालयको खेलमैदान निर्माणको  कार्यले पूर्णता पाएको थियो ।

उहाँ वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । हक्की स्वभावको परिचय बनाएका उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को वडा कार्यालय सबैलाई पाएक पर्ने ठाँउ बनहरीमा स्थानान्तरण गर्नुपर्छ भन्ने पहिलो जनप्रतिनिधि हुनुहुन्छ ।

जनताको प्रत्यक्ष सरोकारका विषयमा खरो जनप्रतिनिधिका रुपमा चिनिएका उहाँ वडा नम्बर ४ को कार्यालय वडाकाे राजनितिक विभाजन अनुसार सबैलाई पाएक पर्ने स्थान बनहरीमा राख्ने निर्णय पास गरेर कार्यान्वयनमा ल्याउन सफल हुनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार