दाङ, १७ फागुन ।
तुलसीपुरमा फागुन २२ गतेदेखि चैत्र ४ गते सम्म दादुरा-रुवेलाको विरुद्धको खोप लगाईने भएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहिबार तुलसीपुरमा पत्रकार तथा सरोकारवालासहितको कार्यक्रम आयोजना गरेर खोप अभियानका बारेमा जानकारी गराएको छ ।
खोप अभियानमा तुलसीपुर उपमहानगरपालिकामा रहेका ६० हजार ६६४ जना बालबालिकालाई दादुरा-रुबेला खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो ।
उपमहानगरका १९ वटै वडाहरुमा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट खोप लगाईने छ । यस अघि खोप लगाएका बालबालिकाले पनि यसपटक अनिवार्य खोप लगाउनुपर्ने छ ।
उहाँले खोप अभियानका लागि सम्पुर्ण तयारी पुरा भैसकेकोे जानकारी दिनुभयो । जसका लागि १ सय २९ जना स्वास्थ्यकर्मी,५ सय ३४ जना स्वयंमसेवक, व्यवस्थापन र अनुगमनकालागि ३० जना जनशक्ती परिचालन गरिएको छ ।
दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले अनुरोध गरेको छ ।
शाखा प्रमुख ओमपि न्यौपानेले खोप लगाएपछि कसैलाई सामान्य समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चामा केही समस्या देखिएमा उपमहानगरभित्र आकस्मिक उपचारको टोली समेत गठन गरिएको बताउनुभयो । खोप प्रभावकारी र भरपर्दो रहेकाले ढुक्क भएल लगाउन अनुरोध गर्नुभयो ।
सामाजिक विकास समिति संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि खड्काले दादुरा-रुवेला विरुद्धको खोप अभियानमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन सबै नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
दादुरा–रुबेलाको खोप यस अघि लगाएको भएपनि अभियानको समयमा अनिवार्य रुपमा बालबालीकालाई लगाउनुपर्ने बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बताउनुभयो ।
डा.खत्रीका अनुसार दादुरा रुबेला भाइरल संक्रमण भएकाले प्राय भाईरल संक्रमणका बेला शरिरमा रोग प्रतिरोधात्मक क्षमता ह्वात्तै घटाउने गर्दछ । बालाबालीकाको रक्षा प्रणालीलाई कमजोर बनाएर अन्य संक्रमणका कारण बच्चाको ज्यान समेत जान सक्ने भएकाले रोग लाग्नु भन्दा लाग्नै नदनिु राम्रो मानिन्छ । दादुरा-रुबेलाको कुनै विशिष्ट उपचार छैन । जसका लागि खोप नै उत्तम रहेकाले सबै बालबालीकालाई अनिवार्य लगाउन अभिभावकहरुलाई सुझाव दिनुभयो ।
भारतसँग सिमा जोडिएका दाङसहित दादुरा-रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाण्डौ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । अबको दुुई वर्षभित्र अर्थात सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक पनि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।