
दाङ, १७ फागुन ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीसहित काठ्माण्डौमा भ्रमणमा गएको भ्रमण टोलिले उपलब्धिपूर्ण भएको दावि गरेको छ । गत फागुन २ गते तुलसीपुर उपमहानगरपालिका महिला जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको भ्रमण टोली काठ्माण्डौको भ्रमणमा गएको हो ।
नगरबाट ६ लाख ६४ हजार १ सय ८० रुपैया पेस्की रकम लिएर भ्रमणमा गएकोबारे आलोचना भएपछि बिहिबार पत्रकार सम्मेलन गरी भ्रमण उपलब्धिपूणर् भएको दावि गरिएको हो । नगर उपप्रमुख स्यानी चौधरीले दुई साताअघि काठ्माण्डौमा गएको भ्रमण उपलब्धिपूर्ण भएको दावि गर्नुभयो । उहाँले आगामी दिनमा पनि नयाँ सिकाईका लागि भ्रमणमा जानुपर्ने बताउनुभयो ।
भ्रमणमा जाँदा राज्यको रकम खर्च भएपनि भ्रमणबाट धेरै कुराहरु सिक्न पाएको उहाँको दावि छ । काठ्माण्डौँ महानगरपालिका, ललित उपमहानगरपालिका, कागेश्वरी मनोहर नगरपालिकामा भएका विकास निर्माणको अवलोकन गरेपछि धेरै सिकाई भएको नगरउपप्रमुख चौधरीको दावि छ । यस्तै महिला तथा बालबालिकाको क्षेत्रमा गरिएका सकारात्मक कामको सिकाई भ्रमण अवलोकनले दिएको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन शाखाका रेवा रावतले पालिकाले गरेको न्यायिक सम्पादन, कर्मचारीको व्यवस्थापन, समन्वय, सहकार्य, सरसफाइ लगायतका कामको अवलोकन गरिएको बताउनुभयो । उहाँले भ्रमणको क्रममा ५ लाख ३६ हजार ६ सय २० रुपैयाँ खर्च भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले भ्रमणमा जाँदा केहि कमजोरी भएपनि उपलब्धिपूर्ण रहेको बताउनुभयो । यस्तै वडा नम्बर १३ का दलित महिला सदस्य बेलमती परियारले पनि काठ्माण्डौमा भ्रमणबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो ।