काठमाडौँ,२० फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिवले गरेका दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा एकमुष्ट रूपमा बदर गरिएको छ ।
मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले मन्त्रालयको हाजिर भएकै भोलीपल्ट निमित्त सचिव कमल भट्टराईले गरेको ‘निमित्त सचिवस्तर’को सरुवा बदर गरेका हुन् । जसमध्ये मन्त्रीको चर्को दबाबपछि आइतवार(आज)९ जनाको पुनः सरुवा गरेका छन् ।
‘यस मन्त्रालय(निमित्त सचिवस्तर) को मिति २०८०/११/०६को निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०८४ को उपदफा(४)बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी खटाइएकोमा उक्त निर्णय यस मन्त्रालय९सचिवस्तर०को मिति २०८०/११/१७ को निर्णयअनुसार बदर गरिएको ब्यहोरा अनुरोध छ’ निमित्त सचिवले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवलाई पठाइएको पत्रमा भनिएको छ ।
त्यससँगै मन्त्रीले गरिसकेको सरुवा बदर गर्न नमानेसँगै पुनः सचिवले ९ जना प्रमुख प्रशासकीय अधिकृतको यसअघि गरिएकै अनुसार सरुवा गरेका छन् जसमध्ये एक जना प्रमुख प्रशासकीय अधिकृतको सच्याइएको छ ।
यसअघि निमित्त सचिवले गरिएअनुसार पुनः सरुवा गरिएका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूमा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई सुन्दरहरैचा नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने सुन्दर हरैचाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, इनरुवा नगरपालिका सुनसरीका अग्नि प्रसाद अधिकारीलाई मेचीनगर नगरपालिका, झापा, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई सैनामैना नगरपालिका, रुपन्देही र त्यहाँका जनक थापालाई सिद्धार्थ नगरपालिका रुपन्देही तथा सिद्धार्थनगर नगरपालिका, रुपन्देहीका नवराज पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, कोल्हवी नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खतिवडालाई मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश मै सरुवा गरिएको छ भने दुहवी नगरपालिका, सुनसरीका प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएकोमा अहिले सच्याएर उर्लाबारी नगरपालिका मोरङमा सरुवा गरिएको छ । प्रशासन खबरबाट साभार