२०८१ भाद्र २२ गते आइतवार

नागेश्वर मन्दिरमा शिबरात्री मेला,दातालाई सम्मान



दाङ,२५ फागुन ।
तुलसीपुर–४ बनहरीमा रहेको कैलाशधाम नागेश्वर मन्दिरमा महाशिवरात्रीका अवसरमा मेला लागेको छ । केहि समय अघि नागेश्वर मन्दिर रहेको स्थानमा नागदेवता प्रकट भएपछि सो क्षेत्र चर्चामा आएको थियो ।

नागेश्वर मन्दिरमा दर्शन गरेमा मनले चिताएको मनोआकाङ्क्षा पुरा हुने विश्वास रहेकाले आज बिहानैदेखि पुजाआराधना गर्न दर्शनार्थीहरुको भिड रहेको पण्डित नारायण भट्टराइले जानकारी दिनुभयो ।

महाशिवरात्री मेलाका अवसरमा मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमकोे आयोजना गरेर मन्दिरको उन्नतीमा योगदान गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको छ। व्यक्तिगत लगानीमा गणेश मन्दिर स्थापना गरेर समाजमा उदाहरणीय कार्य गरेको भन्दै तुलसीपुर-४ बनहरी निवासी सुमित्रा देबकोटालाई सम्मान गरिएको छ । देबकोटाले करिब दुई लाख पचास हजारको लागतमा गणेश मन्दिरसहित प्राङ्गनमा टायल बिच्छाइदिनुभएको मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष शोभाराम बुढाथोकीले जानकारी दिनुभयो ।

नागेश्वर मन्दिर परिसरमा पितृको सम्झनामा १ लाख ११ हजार १११ रुपैँयाको लागतमा हवन कुण्ड निर्माण गर्ने तुलसीपुर ४ बनहरीका पदम बहादुर खत्री र कमला खत्रीलाइ पनि सम्मान गरिएको छ ।

करिब ९२ हजारको लागतमा नन्दी(साँढे) को मुर्ति तथा शिवलिङ्ग स्थापना गर्ने तुलसीपुर-७ का कमला वलीलाई सम्मान गरिएका थियो।


कार्यक्रममा मन्दिरको स्तरोन्नती गर्न मद्दत गर्ने सहयोगी दाता तुलसीपुर-५ का बसन्त केसी ५१ ह्जार १५२ रुपैँया,जिवराज पोखरेल २५ हजार १११ रुपैँया र विष्णु प्रसाद भट्टराइले २५ हजार ५रुपैँया सहयोग गरेकोमा व्यवस्थापन समितिले दाताहरुलाई सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा मन्दिरको दैनिक नित्यकर्म गरेर सहयोग गर्ने पण्डित नारायण प्रसाद भट्टराई,सञ्चारको तर्फवाट पु्याएको योगदानको कदर स्वरुप रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल,स्थानीय भजन समुह,मन्दिरमा विभिन्न सामाग्री दान गर्ने दाताहरुलाई समेत सम्मान गरिएको हो।

कैलाशधाम नागेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर खत्रीको अध्यक्षता तथा ज्येष्ठ सदस्य डिल्ली बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पुजाआजा संगै भजनमण्डली सहित भक्तजनहरुको समुहले नाँचगान गरेर रमाईलोका साथ शिवरात्री मनाएका छन् ।


मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शोभाराम बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव दामोदर न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार