दाङ, २६ फागुन ।
दाङमा स्कारपियोको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाईते अटो रिक्सा चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगञ्ज स्थित न्यूरो अस्पतालमा उपचार गराउने क्रममा लमही नगरपालिका-७ निवासी ३५ बर्षिय बिष्णुबहादुर थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३-०१०२२ च १७५७ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउदै गरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको हो ।
लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो । प्रहरीले चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका-७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उहाँको टाउँकोमा चोट छ ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक राजपुर गाँउपालिका-३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा-६ निवासी १९ बर्षिय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षिय हरी पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षिय पंकज सिह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिय कश्मिर सिह घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।