२०८१ माघ १२ गते शनिवार

लैङ्गिक हिंसा न्यूनीकरणमा एकद्वार संकट व्यवस्थापन केन्द्र प्रभावकारी बन्दै



दाङ, २ चैत ।
लैङ्गिक हिंसा न्यूनीकरणमा एकद्वार संकट व्यवस्थापन केन्द्र प्रभावकारी बन्दै गएको छ । दाङमा ओसिएमसी मार्फत सेवा लिने लैंगिक हिंसा प्रभावितको सङख्या बढ्दो रहेको पाइएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा स्थापित अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिने लैंगिक हिंसाप्रभावितको संख्या बढ्दो रहेकोे पाइएको हो ।

हिंसाप्रभावितलाई एकै ठाउँबाट सेवा दिने उद्देश्यले सरकारले सरकारी अस्पतालमा ओसिएमसी स्थापना गरेको हो । ओसिएमसीबाट प्रभावितको स्वास्थ्य उपचारसँगै मनोपरामर्श, कानुनी परामर्श र सहयोग, सुरक्षा तथा पुनर्स्थापनामा सहयोग गर्ने गरिएको छ । त्यस्तै हिंसाप्रभावितलाई बस्ने र खाने व्यवस्थासमेत ओसिएमसीबाट हुने गरेको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ओसिएमसीबाट गत आर्थिक वर्ष २०७९/८० मा १५५ जनाले सेवा लिएका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ९९ जना हिंसा प्रभावितले सेवा लिएका छन् । तीमध्ये ३९ जना बलात्कार प्रभावित, ३५ जना शारीरिक दुर्व्यवहार तथा कुटपिट हिंसा, २५ जना मानसिक दुव्यवहारको हिंसा प्रभावित रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ओसिएमसी फोकल पर्सन डिला भुषालले जानकारी दिनुभयो । अहिले सम्म करिब ६ जना हिंसा प्रभावितलाई ओसिएमसीले सुरक्षित आवासगृहमा पठाएको छ ।

फोकल पर्सन भुषालका अनुसार अस्पतालमा आउने प्रया जसो हिंसा बलात्कारको रहेको छ । जसमा १९ देखि ४९ वर्ष उमेर समूहका धेरै रहेका छन् । जसमा १० वर्षभन्दा मुनिको २ जना, १९ देखि ४९ वर्षका ४०, १५ देखि १८ वर्षका १७ र ६० वर्ष भन्दा धेरैका ४ जनाले सेवा लिएको तथ्याङले देखाएको छ । जनचेतना धेरै भएर सेवा लिनेको संख्या बढेको बताइएको छ ।

केन्द्रले हिंसा प्रभावितहरुलाई २४ सै घण्टा सेवा प्रवाह गर्दै आएको छ । ओसिएमसीका फोकल पर्सन भुषालले अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वारा संकट व्यवस्थापन केन्द्र रहेको भन्ने प्रचारप्रसार र कुनै पनि हिंसा लुकाएर बस्न नहुने भन्ने जनचेतनाले प्रभावितरुको संख्यामा वृद्धि आएको बताउनुभयो ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ओसीएमसिमा सेवा लिनेहरुको संख्या पनि बढ्दै गएको छ । गत वर्ष २ सय ८६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । चालु वर्षको फागुनसम्म १५५ जना हिंसा प्रभावितले सेवा लिएका छन् ।

जसमा सबैभन्दा धेरै मानसिक दुव्यहार भएको ५५ जनाले सेवा लिएका हुन् । बलात्कार ५०, यौनजन्य दुव्यवहार ४, शारिरीक दुव्यवहार ३६, जवरजस्ती विवाह ४, सा्रेतसाधनबाट बञ्चित १ र बहुविवाहका ५ जानले सेवा लिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका ओसिएमसि फोकल पर्सन सुस्मीता पोख्रेलले जानकारी दिनुभयो । धेरै जासो हिंसा घरपरिवार बाटै हुने गरेको पोख्रेलले बताउनुभयो ।

तथ्यांक अनुसार दलित ५६ जना, ब्राह्मण-क्षत्री ५३ जना, जनजाति ४५ जना र मधेसी १ जना र अन्य १० जना हिंसा प्रभावित रहेका छन् । दाङमा पछिल्लो २१ महिनाको अवधिमा ६ सय ९५ जनाले ओसिएमसीबाट सेवा लिएको तथ्याङकले देखाएको छ ।

हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू प्रभावित हुने गरेका छन् । यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ । यस्ता समस्याहरूको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न अस्पतालहरुमा स्थापना गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रभावकारी बनिरहेको छ ।

हिंसा न्यूनिकरणको लागि स्थानिय पालिका देखि लिएर विभिन्न संघसंस्थाले कार्यक्रमहरु सञ्चालन गरेपनि प्रभावकारी देखिएको छैन् । समाजमा अझै पनि महिलारुमाथि विभिन्न खाले हिंसाहरु भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ सम्म दाङलगाएत देशभरका ८८ वटा अस्पतालहरुमा ओसीएमसी विस्तार गरी सेवा संचालन भइरहेको छ ॥

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार