दाङ, ५ चैत ।
तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत रहेका जितमान पुन मार्सललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सोमबार दाङ जिल्ला अदालतका न्यायाधीश ताराकुमारी शर्माको इजलासले पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
२०५३ सालमा दाङ जिल्ला अदालतमा चलेको लागुऔषध चरेसको मुद्दामा पुनलाई फरार प्रतिवादी बनाइएको थियो । सुरुमा मुल्तबीमा रहेको उक्त मुद्दा २०७२ सालमा जागेर पुनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
तर पुनले आफूविरुद्ध मुद्दा छ भन्ने जानकारी नपाएको, म्याद तामेल समेत आफू रहेको ठेगानामा नभएको र घटनामा आफ्नो संलग्नता समेत नरहेको कारण आफूले सफाइ पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले पुनको रिटमा परमादेश दिँदै म्याद तामेल कानुनसम्मत नभएको कारण सुरुदेखि नै हेर्न भनेको थियो । त्यसपछि पुनको मुद्दा दाङ जिल्ला अदालतमै फर्किएर सुरुदेखि नै अभियोजनको प्रक्रिया सुरु भएको थियो ।
पुन २०५० सालदेपख नै तत्कालीन मसालमा संलग्न रहेको र आफू भूमिगत रहेको तर आफूलाई राजनीतिक आस्थाका आधारमा फसाइएको दाबी गर्दै आएका छन् । माओवादीले २०५२ सालबाट जनयुद्धको थालनी गरेपछि उनी औपचारिक रूपमा युद्धमा होमिएको र आफू कुनै गलत कार्यमा नलागेको उनको दाबी छ ।
तर आफू युद्धमा लागेकै कारण विपक्षी दलमा आस्था राख्नेहरूले आफूलाई फसाउन आफ्नो नाम पोल गरिदिएको उनको दाबी छ । दाङ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि उनीमाथिको अभियोग भने जारी नै रहेको छ । -रातोपाटीबाट