२०८१ माघ १० गते बिहिवार

लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार



दाङ, २५ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा)बाट एक गरी तीन जना मन्त्री नियुक्त हुनुभएको हो ।

नेकपा (एमाले)लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री हुनुभएको छ ।

तीनै जना मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ गराइएको हो । मुख्यमन्त्री महराले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रालय विस्तारसहित मन्त्रालयको टुङ्गो लाग्ने छ ।

यसअघि आइतबार नै मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश प्रमुख शेरचनसमक्ष मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदको समर्थन रहेको छ ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ॥

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार