
तुलसीपुर, २ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्कृष्ट भएको छ । तुलसीपुर उपमहानगरका १९ वटा वडामध्ये ६ नम्बर वडा उत्कृष्ट बनेको हो ।
वडाले कार्यसम्पादन मूल्याङकन, लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल, प्रशासनिक सेवा छिटो छरिटो भएको, कार्यालयमा भएको कागजात व्यवस्थानमा राम्रो, सुशासन र पारदर्शितामा उत्कृष्ट कार्य गरेकोले वडा नम्बर ६ उत्कृष्ट वडा भएको सुशासन समितिका संयोजक धर्म वलीले बताउनुभयो ।
सुशासन समितिले उत्कृष्ट हुनुको ५ वटा आधार बनाएर कार्यपालिको बैठकमा पेश गरेको थियो । बैठकमा पेश गरेको कुरालाई नगर कार्यपालिकाले निणर्य गरेर ६ नम्बर वडालाई उत्कृष्ट घोषणा गरेको उहाँको भनाई छ ।
वडाले गत वर्ष १ करोड भन्दा बढी राजस्व संकलन गरेको थियो । यो वर्ष पनि तुलसीपुरका अरु वडा भन्दा धेरै राजस्व संकलन गरेको उहाँले बताउनुभयो । चालु वर्षमा पनि लक्ष्य भन्दा धेरै राजस्व संकलन गरेको छ । अहिले सम्म वडाले करिब ७६ लाख राजस्व संकलन गरिसकेको छ ।
वडा अध्यक्ष दुजमान भण्डारीले वडाले नागरिकलाई छिटो छरिटो रुपमा सेवा प्रवाह गदै आएको बताउनुभयो । उहाँले वडाले हरेक वर्ष समयमै योजना छनोट गर्ने, नागरिकका कामहरु सकेसम्म अनलाइन प्रणालीमार्फत व्यवस्थित तरिकाले अगाडी बढाउदै आएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले ३२ औं स्थापना दिवसको अवसरमा ६ नम्बर वडालाई उतकृष्ट वडाको रुपमा सम्मानित गरेको हो । विभिन्न कामको मूल्यांकन गदै वडालाई सम्मान गरेकोमा अध्यक्ष भण्डारीले पालिकालाई धन्यवाद दिनुभएको छ ।
यस्तै वडाका जनप्रतिनिधि, कर्मचारी र वडावासीहरुलाई वडालाई सम्मानित हुन सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको छ । पालिकाको यो सम्मानले वडालाई काम गर्न थप हौसला थपिएको उहाँको भनाई छ । आगामी दिनमा वडालाई समृद्ध वडा बनाउनको लागि वडावासीको साथ सहयोग आवश्यकता रहेको उहाँले बताउनुभयो ।