
तुलसीपुर ७ बैशाख ।
तुलसीपुर-१२ हरिपौरीमा रहेको पशुपती माद्यामिक विद्यालयमा शिक्षण सिकाइको लागि स्मार्ट टेलिभिजन हस्तान्तरण भएको छ । समाजसेवि तुलसीपुर- ६ का गोमा खड्का र हरि खड्काले बालबालिकाको शिक्षण सिकाईमा सहयोग पुर्याउने उद्देश्यले आज शुक्रबार विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक चौधरीले ८५ हजार मूल्य बराबरको दुई थान स्मार्ट टेलिभिजन विद्यालयलाई सहयोग गरेकोमा खड्का दम्पतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई श्रव्यदृश्य माध्यमबाट अध्यापन गराउन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभयो ।
विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अङग्रेजी माध्यमबाट पनि पढाई हुन थालेपछि भर्ना हुने विद्यार्थीको संख्या बढेको उहाँले बताउनुभयो ।