
तुलसीपुर, २७ बैशाख ।
तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सचिव पदमा स्वतन्त्र उमेदवारी दिनुभएका चन्दन वलीले मतदातालाई निर्वाचित गराउन अपिल गर्नुभएको छ । तुलसीपुरमा बिहिबार (आज) बिहान पत्रकारसंगको भेटघाट कार्यक्रममा उहाँले आफु स्वतन्त्ररुपमा उमेदवारी दिएको बताउँदै आम मतदातालाई निर्वाचित गराउन अपिल गर्नुभएको हो ।
बिजनेशमा स्नातकोत्तर गर्दै गरेका वलीले आफु निर्वाचित भएपछि युवालाई देशमै व्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले बजार व्यवस्थापन, सरसफाई, झन्जटिलो कर प्रणालीलाई व्यवस्थित गराउन पहल गरिने समेत बताउनुभयो ।
चुनावमा गठवन्धनबाट टिकट नपाएपछि स्वतन्त्र भनेर उमेदवारी दिनुभएको हो?भन्ने पत्रकारहरुको प्रश्नमा सचिव पदका उमेदवार वलीले आफु अहिले सम्म कुनै दलको सदस्य नरहेको प्रष्ट पार्नुभएको छ । स्वतन्त्र रहदा कसैको दवाव नहुने र काम गर्न सजिलो हुने भएकाले उमेदवारी दिएको बताउनुभयो ।