२०८२ जेष्ठ ३२ गते आइतवार

दंगिशरण गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न



दाङ, १६ जेठ ।
दंगिशरण गाउँपालिकाले बुधबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले कृषि, सडक लगायतका विषय नै उठाएका छन् । कार्यक्रममा कृषक रबिन्द्र कुमार चौधरीले गाउँपालिकाले शितभण्डार संचालन गर्न ढिलाई गरेको गुनासो गर्नुभयो । उहाँले शितभण्डार संचालन नहुँदा कृषिजन्य वस्तुको भण्डारणमा समस्या हुन थालेको बताउनुभयो ।

यस्तै किसान बुद्धिमान चौधरीले दुधको बजारीकरणमा पालिकाले समन्वयकारी भूमिका खेल्न नसकेको बताउनुभयो । व्यवसायीक किसानलाई कृषि बिमाको लागि पालिकाले समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै सहभागी होमर केसीले पालिकाले सिपमूलक तालिम प्रदान गरेपनि व्यवहारिकरुपमा उपलब्धिमा चासो नदिँदा सरकारी लगानीको सदुपयोग हुन नसकेको बताउनुभयो । उहाँले सिप सिकेको जनशक्तिलाई स्वरोजगार बनाउनका लागि पालिकाले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

अशक्त रोशन गिरीले अपांग संजालको कार्यालय व्यवस्थापनका लागि पालिकामा माग गरेपनि सुनुवाई हुन नसकेको बताउनुभयो । दंगिशरण गाउँपालिकाको आयोजना तथा बल्याक डायमण्ड फिल्मस्को सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा तीर्थबहादुर डाँगी, भरतबहादुर वली, सीता बस्नेत, बुद्धिमान चौधरी, राजेन्द्र घर्तीमगर, रामशंकर यादव, गिता पौडेल, पार्वता कँडेल, सुमित्रा शर्मा, निर्मला कामी, पार्वती वली लगायतले सडक पूर्वाधार, कृषिका लागि सिंचाई, दुग्ध उत्पादन र बजारीकरणको समस्या रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गर्नुभएको हो । सहभागीले उठाएका प्रश्नको जवाफ सम्बन्धित शाखा प्रमुख , प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष , उपाध्यक्षले जवाफ दिनुभएको हो । कार्यक्रममा उपाध्यक्ष पिमा वली खड्काले धन्यवाद ज्ञापन गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार