२०८१ जेष्ठ ३१ गते बिहिवार

पाटी सदस्यता त्याग गरेपछि वडाध्यक्षलाई एमोलेले माग्यो स्पष्टीकरण



दाङ, २० जेठ ।
नेकपा एमाले दाङले घोराही उपहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जीतेन्द्र शाहलाई स्पष्टीकरण मागेको छ । २०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष शाहले जेठ ७ गते सामाजिक संजाल फेसबुकमार्फत र जेठ ८ गते पत्रकार सम्मेलन गरी पाटी त्याग गरेको घोषणा गरेपछि एमालले स्पष्टीकरण मागेको हो ।

सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा राजनैतिक दल त्याग सम्बन्धि ऐन २०७३ को कानुनी व्यवस्था बमोजिम कार्बाही हुने नेकपा एमाले दाङले चेतावनी दिएको छ ।

एमाले दाङका शिवकुमार आचार्यले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा भनिएको छ -‘पटक पटक विवादित काम गर्दै सामाजिक संजालमा पाटी त्यागे गरेको घोषणा गर्ने, पाटीसंग कुनै सम्बन्ध नराखि मतदाताको हित विपरित काम गरेको र मौखिकरुपमा सचेत गराउँदा अटेरी गरेकाले सातदिन भित्र स्पष्ट जवाफ माग गरिएको छ, यदि चित्तबुझ्दो जवाफ नआएमा कार्बाही गरिने छ ।’

राजनैतिक दल त्याग सम्बन्धि ऐन २०७३ को परिच्छेद-६ को बुँदा ३१ को दफा १ बमोजिम कुनै दलको उमेदवार भई निर्वाचित स्थानीय तहको सदस्यले पदावधि कायम रहँदासम्म दलको सदस्य त्याग गर्न नपाउने र बुँदा ३१ को दफा २ को उपदफा १ बमोजिम निजले दलको सदस्यता त्याग गरेमा सदस्यता त्याग गरेको मितिदेखि निजको पद स्वत: खारेज हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार