२०८१ असार ४ गते मङ्गलवार

रुकुम पश्चिममा गाडी दुर्घटना, तीन जनाको मृत्यु



सुर्खेत, २८ जेठ ।
रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ मा भएको वर्ल्ड लिङ्क कम्युनिकेसनको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेत तर्फ गइरहेको डबल क्याप बोलेरो गाडी वडा नम्बर १ को गिलवाङ नजिकै नेपाने भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गाडी सडकबाट २ सय मिटर तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका ८ मेहलकुनाका अन्दाजी ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई लगत्तै जिल्ला अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए ।

त्यस्तै तीन जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल रहेको प्रवक्ता शाहीको भनाई छ ।

उनीहरू मध्य सुजल र टीकारामको अवस्था गम्भीर छ । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको शाहीले बताउनुभयो । दिलीप भने बोल्न सक्ने अवस्थामा रहेको र जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

फाइबर नेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए । बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए ।

उनीहरू सवार वर्ल्ड लिङ्क कम्युनिकेसनको कणर्ाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो सोलावाङ बालुवा सडक खण्डको गिलवाङ नजिकै नेपानेमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार गाडी सडकबाट करिब दुई सय मिटर भन्दा तल खसेको छ । उक्त गाडी तीन टुक्रा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार