दाङ, २९ जेठ ।
दाङमा माछापालन व्यवसाय बढ्दा उत्पादनमा वृद्धि भएको छ । कम लगानीमा राम्रो उत्पादन गर्न सकिने भएपछि पछिल्लो समय दाङमा माछापालन व्यवसाय बढ्दै गएको छ ।
माछापालन व्यवसाय बढ्दा माछाको उत्पादनमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताउनुभयो ।
मत्स्य विकास अधिकृत चौधरीका अनुसार अहिले दाङमा वार्षिक ६ सय १५ मेट्रिक टनसम्म माछा उत्पादन हुने गरेको छ । गत वर्षसम्म जिल्ला करिब ६ सय ६ मेट्रिक टनसम्म माछा उत्पादन हुने गरेको थियो ।
जिल्लामा करिब एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा पोखरी विस्तार गरेर एक सय १५ हेक्टर क्षेत्रफलमा र अन्य प्राकृतिक तथा कृत्रिम जलाशय गरेर ८० हेक्टर क्षेत्रफलमा माछापालन हुने गर्दछ ।
माछापालन व्यवसायमा करिब दुई सय ८५ बढी व्यवसायीहरू आबद्ध रहेका छन् । मत्स्य विकास अधिकृत चौधरीका अनुसार कार्यालयले किसानलाई पोखरी निर्माणदेखि माछाका भुर्रा निर्यातसँगै प्रविधिमैत्री जलाशय बनाउनका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
जिल्लामा माछापालन व्यवसाय बढ्दै जाँदा माछामा आत्मनिर्भर बन्नेतर्फ अघि बढेको मत्स्य विकास अधिकृत चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा बाहिरबाट माछा ल्याउनुपर्ने बाध्यता हटेको छ ।
उहाँका अनुसार माछा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । उहाँका अनुसार पछिल्लो समय करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।
मत्स्य विकास अधिकृत चौधरीका अनुसार पंगास, कार्प, बैखा लगायतका विभिन्न प्रजातिका माछापालन हुने गरेको छ । जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार बाह्रै महिना धान्ने अवस्थामा अझै पुग्न भने सकेको छैन । व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएकोले आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो ।