२०८१ माघ ६ गते आइतवार

सामाजिक सुरक्षा भत्ताको सास्ती : अक्सिजन सिलिन्डर बोकेर राष्ट्रिय परिचय पत्रको लाइनमा



काठमाडौं,३० जेठ ।

तनहुँकाे ब्यास नगरपालिका-१३, की ७४ वर्षीया गम्भीरमाया पन्थले वृद्धभत्ता बुझ्न थालेको चार वर्ष भयो ।

लामो समयदेखि दम रोगबाट पीडित पन्थ शारीरिक रूपमा अस्वस्थ भएपछि पछिल्लो समय वडाले घरमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

सरकारले साउनदेखि राष्ट्रिय परिचय पत्र बनाएकालाई मात्रै वृद्धाभत्ता दिने निर्णय गरेको थाहा पाइन्, झसंग भइन् । परिचय पत्रका लागि नजिकै रहेको वडा कार्यालयमा होइन, करिब १० किलोमिटर टाढा रहेको सदरमुकाम दमौली पुग्नैपर्ने भयो ।

केही समयअघि वडा नजिकै राष्ट्रिय परिचय पत्र बनाइदिन टोली आएको सुनेको थियो । तर आवश्यक नभएकाले कसैले पनि परिचय पत्र बनाएका थिएनन् । अब वृद्धभत्ता नै रोकिने भएपछि सोमबार गम्भीरमाया करिब आधा घण्टा बसको यात्रा गरेर छोरा गोकुल पन्थसँग दमौलीस्थित जिल्ला प्रशासन कार्यालय पुगिन् ।

चर्को गर्मी र त्यसमाथि असहज बाटोले गर्दा गम्भीरमाया अक्सिजन सिलिन्डर नै साथमा बोकेर गएकी थिइन् । अक्सिजन सिलिन्डरसँगै राष्ट्रिय परिचय पत्रका लागि लाइन लागेकी थिइन् । ‘आमा दमको बिमार हुनुहुन्छ । त्यही भएर अक्सिजन सिलिन्डर सँगै लगेका थियौं’, गम्भीरमायाका छोरा गोकुलले अनलाइनखबरसँग भने, ‘बाहिर एक घण्टा जति लाइन लाग्नुपर्‍यो भित्र पसिसकेपछि भने धेरै लाइन लाग्नु परेन । नागरिकता बुझाएपछि एकैछिनमा भयो ।’
ठूलो र गह्रौं अक्सिजन सिलिन्डर बोक्न छिमेकी माधव पन्थले सघाएका थिए । ‘मैले त अस्पताल जान लागेका होलान् भन्ने सोचेको थिएँ’, छिमेकी माधव भन्छन्, ‘त्यत्रो दुःख गरेर परिचय पत्र बनाउन पो जान लागेका रैछन्, पछि थाहा पाएँ ।’

ब्यास नगरपालिका-१३ का वडाध्यक्ष वसन्त आलेका अनुसार केही समयअघि वडामै २ ठाउँमा राष्ट्रिय परिचय पत्रका लागि शिविर चलाएको थियो ।

तर सामाजिक सुरक्षा भत्तामा अनिवार्य नभएका कारण धेरै अपांग तथा जेष्ठ नागरिक छुट्न पुगेको बताए । ‘त्यतिबेला छुटेकाहरू सामाजिक सुरक्षा भत्तामा नपाउने भएपछि प्रशासनमै गएर बनाउन थाल्नुभएको छ । त्यहाँ पनि एकदमै भिड छ’, आलेले भने, ‘२/४ दिनअगाडिबाट त्यहाँ ठूलो भिड लागेको छ ।’

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य राष्ट्रिय परिचय पत्र हुनुपर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष पनि सकिनै लागेकाले उक्त परिचय पत्र लिन अहिले विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूमा सेवाग्राहीको भिड छ । सबभन्दा मारमा अशक्त, अपांग र जेष्ठ नागरिक परेका छन् । अनलाइन  खवरबाट साभार

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार