२०८१ साउन ५ गते आइतवार

बालश्रममुक्त तुलसीपुर बनाउनुपर्नेमा जोड



तुलसीपुर, ३० जेठ ।
बालश्रम मुक्त तुलसीपुरका लागि सरोकारवालाले जोड दिएका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार सेन्टर मावि तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बालमैत्री तुलसीपुर बनाउनका लागि बालश्रम मुक्त तुलसीपुर बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा महिला तथा बालबालिका संरक्षण केन्द्रका अध्यक्ष तथा बालविज्ञ नवराज लामिछानेले सबैको सामुहिक प्रयासले मात्रै बालश्रममुक्त नगरको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले तुलसीपुरमा अझै पनि बालबालिका श्रममा लागेको अवस्था रहेको बताउँदै बालश्रममुक्त नगर बनाउनका लागि आफु निरन्तर अभियानमा रहेको बताउनुभयो।

यस्तै सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरीराज पाण्डेले बालश्रम मुक्त पालिका बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबै बालबालिका शिक्षाको पहुँचमा जोडिन सकेमात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने बताउनुभयो ।

त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अरु क्षेत्रभन्दा यातायात क्षेत्रमा बालश्रमिक हुने समस्या रहेको भन्दै आफुले त्यसको अन्त्यका लागि पहल गरेको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले होटल तथा उद्योग क्षेत्रमा बालश्रम अन्त्यका लागि संघले खबरदारी गरिरहेको बताउनुभयो ।

सेन्टर मावि तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न निरन्तर लागिरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका, महिला तथा बालबालिका संरक्षण केन्द्र (न्यूसीपीसी) र सिर्जना बालक्लब मावि तुलसीपुर सेन्टरको आयोजनामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको हो ।

सिर्जन बाल क्लबका अध्यक्ष राजु विकको अध्यक्षता तथा सामाजिक विकास डिभिजनका प्रमुख गिरीराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण न्यूसीपीसीका सचिव गणेश भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार