तुलसीपुर, ३१ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाको दमकल मर्मतमा १० लाख बढी खर्च आएको छ । उपमहानगरपालिकाको एक मात्र रा १ ग ६३ नम्बरको दमकल मर्मत खर्च १० महिनाको अवधिमै १० लाख बढी आएको हो ।
चालुवर्षको साउनदेखि बैशाखसम्म दमकलको मर्मत खर्च १० लाख ३० हजार ८२२ खर्च भएको तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएकाे सूचनामा उल्लेख गरिएकाे छ।
चालु आर्थिक वर्षको १० महिनामा दमकल २ पटक बिग्रिदा १० लाख बढी खर्च भएको हाे । दमकलको टक्सन पम्प खरिद तथा मर्मतमा ७ लाख ४५ हजार ८०० र इन्जिन सिज मर्मतमा २ लाख ८५ हजार २२ मर्मतमा खर्च भएकाे उल्लेख गरिएकाे छ यद्यपि अन्य खर्च विवरण भने उपलब्ध नगराएकाे स्वयम् उपमहानगर स्रोतले नै बताएकाे छ ।
२०८१ बैशाख २४ गतेकाे बसेकाे २२ औं कार्यपालिका बैठकले वारूणयन्त्रलाई अत्यन्त संवेदनशील सेवाका रूपमा लिएकाे छ । जसका लागि विपदजन्य न्युनिकरणमा चाैविसै घन्टा खट्नुपर्ने भएकाले अन्य शाखाबाट वारूणयन्त्रमा कामकाजमा खटिने कर्मचारीलाई वारूणयन्त्रमा काम गर्ने कर्मचारी सरह अतिरिक्त समय भत्ता उपलव्ध गराउने समेत निर्णय गरेकाे छ। विपदका समयमा स्थानीय नागरिकले पर्याप्त सुविधा पाउन नसकेकाे दमकलकाे मर्मतका नाममा भएकाे खर्च भने अस्वभाविक देखिएकाे छ।
चालु अवस्थामा रहेको दमकल संचालनका लागि ४ जना जनशक्ति रहेका छन् । ति जनशक्तिका लागि नगरले मासिक १ लाख २५ हजार ३६ खर्च गर्दै आएको छ । दमकल २०६९ सालदेखि चालु अवस्थामा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको दमकलले तुलसीपुरसहित पश्चिम दाङका चार पालिकामा प्रयोग हुने गरेको छ । दमकल धेरै ठाउँमा प्रयोग हुँदा पटक पटक बिग्रने समस्या आउने गरेको नगरले दावि गर्ने गरेको छ ।