दाङ, ४ असार ।
लामो समयदेखिको गर्मीका कारण पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । दाङसहित लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लामा बढी गर्मीको असर छ । गर्मी बढ्दै गएपछि घर बाहिरको काम गर्न कठिन भएको तुलसीपुर-१२ का गिता चौधरीले बताउनुभयो ।
‘गर्मी अत्याधिक बढेको छ ।’ उहाँले भन्नुभयो-‘गर्मी बढेपछि आजभोलि घरबाहिरको काम गर्न निकै कठिन हुने गरेको छ ।’ साँझ बिहानको तुलनामा दिउँसोको समयमा गर्मीको बढी असर रहेको उहाँले बताउनुभयो ।
गर्मीको समयमा विद्युत समेत अनियमित हुने गरेको चौधरीले बताउनुभयो । ‘पंखा चलाउनुपर्ने समयमा विद्युतको लाइन गएपछि साह्रै समस्या हुने गरेको छ ।’ उहाँले भन्नुभयो-‘विद्युत भएपनि भोल्टेज कम हुँदा निकै समस्या हुने गरेको छ ।’
सोमबार दाङमा अधिकतम तापक्रम ३८ दशमलव २ डीग्री मापन गरिएको छ । गर्मी बढेपछि रोपेको मकै पनि सुक्न थालेको छ । कतिपय किसानले राखेको धानको ब्याड समेत सुक्ने अवस्थामा पुगेको छ ।
तुलसीपुर-१५ का जीत बहादुर चौधरीले पानी नपरेपछि धानको व्याड सुक्न थालेको बताउनुभयो । ‘लामो खडेरी गरेको छ ।’ उहाँले भन्नुभयो-‘खडेरीका कारण खेतमा रोप्नका लागि तयारी अवस्थामा रहेको धानको व्याड सुक्न थालेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार सोमबारको न्युनतम तापक्रम २७ दशमलव ५ डिग्रि सेल्सीयस मापन गरिएको छ ।
पश्चिमी तराईका क्षेत्रमा आज पनि गर्मी कायमै रहने अनुमान मौसमविद्ले गरेका छन् । मौसमविदका अनुसार सदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा यही असार ६ गतेसम्म तातो हावाको लहर चल्ने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै असार ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो ।
तातो लहर अर्थात् हिट वेभका असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराईबासी सुख्खा र खडेरीको मारमा परेका छन् । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले कोशी प्रदेशमा २८ जेठमा भित्रिएको मनसुन पश्चिमतिर फैलन नसक्दा गर्मी बढेको बताउनुभयो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा गर्मी उच्च छ । लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराई तथा भित्री मधेशबासी सुख्खा र खडेरीको मारमा परेका छन् ।