रुकुम पश्चिम, ५ असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरु बन्द गरिएको छ । केहि दिन यता बिद्यार्थीहरु एक्कासी बेहास हुने, छटपटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरु बन्द गर्ने निणर्य गरेको हो ।
आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाहका अनुसार आजदेखि ९ गतेसम्मको लागि पठनपाठन स्थगन गर्ने निणर्य भएको हो । नगर प्रमुख रबि केसीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पाँच दिन पठनपाठन स्थगन गर्ने निणर्य गरेको हो ।
मिन पचास बिदाबाट बिदा कट्टि हुनेगरी नियमित पठनपाठन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिनुभयो । अत्याधिक गर्मीको कारण बिद्यार्थीहरु बिरामी भएको विद्यालयले जानकारी दिएका छन् ।
नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टका अनुसार केहि दिन यता वडा नम्वर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८-१० जना बिद्यार्थीहरुमा विद्यालयमै एक्कासी बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो ।
त्यसैगरी वडा नम्वर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरु समेत बिरामी हुन थालेका थिए । बिद्यार्थीहरु बिरामी हुने क्रम नरोकिएपछि र बिरामी हुने दर बढ्न थालेपछि आकस्मिक बैठक बसेर नियमित पठनपाठन स्थगित गरिएको हो ।