२०८१ माघ ६ गते आइतवार

तुलसीपुरकाे नीति कार्यक्रम : एक हजार बरपिपल राेपणदेखि इलेक्ट्रिक नगर बस सञ्चालन 



तुलसीपुर,१० असार

तुलसीपुरमा बनाऔं चौतारी जोगाऔं छहारी अभियान अन्तरगत जहाँ वर पिपल त्यहाँ शीतल कार्यक्रममार्फत एक हजार वर पिपलका बिरुवा रोपण गरिने भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिकाले आज (साेमबार) आर्थिक वर्ष २०८१/८२ काे प्रस्तुत पन्ध्रौं नगरसभाकाे पहिलाे बैठकमा नीति तथा  कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख टिकाराम खड्काले यस्ताे नीति ल्याएकाे बताउनुभएकाे हाे ।

सार्वजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिदै  बचाऔं मुहान जोगाऔं जीवन कार्यको सुरुवात् गरिने उहाँले बताउनुभयाे ।

यस्तै  तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा ईलेक्ट्रिक नगर बस सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने नीति सार्वजनिक गरिएकाे छ। यस्तै अपाङ्गमैत्री सडक पूर्वाधार निर्माणमा प्राथमिकता, नगरको बाहिरी चक्रपथलाई छिमेकी पालिकाको साझेदारीमा अन्तरपालिका चक्रपथ निर्माणकाेअवधारणालाई अगाडि बढाउने नीति सार्वजनिक गरेकाे हाे ।

ग्रामीण भेगका कृषकहरूका लागि पशु स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडाहरूमा घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालनदेखि व्यावसायिक पशुपन्छी पालन कृषकहरुको फार्ममै पुगि प्राविधिक सेवा उपलब्ध गराउनका लागि डोर टु डोर कार्यक्रम सञ्चालनमा ल्याउने नीति अघि सारेकाे छ ।

यस्तै पर्यटन तर्फ हेरौं तुलसीपुर, चिनौ तुलसीपुर कार्यक्रमको सुरुवात गर्ने,खेलकुदतर्फ अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, साइक्लिङ, रक क्लाइम्बिङजस्ता साहसिक खेललाई प्रोत्साहन गरिने नीति ल्याइएको छ ।

 विगत लामाे समयदेखि नियमित हुन नसकेको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि  आवश्यक समन्वय गरिने समेत नितिमा राखिएकाे छ  ।

यस्तै स्वास्थ्यतर्फ मेयर स्वास्थ्य मुटु अभियान सञ्चालन,मौलिक चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद तथा योगको विकासमा जोड ,छ।  समाजमा विद्यमान वैद्य तन्त्रात्मक उपचार पद्धतिका विषयमा खोज अनुसन्धान ,नगरका सबै वडाहरूमा योग तथा ध्यानकेन्द्र सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्ने नीति बनाएकाे छ ।

सडक पूरवाधारतर्फ तुलसीपुर उपमहानगरपालिकाबाट निर्माण हुने सडकहरु व्यवस्थित र दिगो राखको कन्क्रिट कालोपत्रे गरिने,  बजार क्षेत्रमा सवारी चाप तथा दूर्घटनपटानीकरणका लागि भित्रि सवारी-साधनलाई बाइपासको व्यवस्था गरिने उल्लेख छ ।

 सुरक्षित घरका लागि नयाँ बन्ने घरहरूलाई नक्सापासको मापदण्ड भित्र ल्याउने नीति कडाइसाथ लाग गर्ने भएकाे छ। नक्सापास नगरी घरबनाउने कार्यलाई निरुत्साहित गर्न नक्सापास नगर्ने घरधनीलाई तुलसीपुर उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा साथै विद्युत खानेपानीलगायतका सिफारिस समेत कटौति गरिने भएकाे छ ।

 सूचना तथा सञ्चारतर्फ तुलसिपुर उपमहानगरपालिकाबाट प्रकाशित गरिने सूचना तया विज्ञापनलाई एकद्वार प्रणालीद्वारा व्यवस्थित गर्ने । लोककल्याणकारी सूचना तथा विज्ञापनलाई सञ्चारमाध्यमहरुको वर्गीकरणका आधारमा कार्यान्वयनमा ल्याउने र तुलसीपुर उपमहानगरपालिकभित्र रही सञ्चालनमा आएका सञ्चारमाध्यमहरुका लागि आवश्यक पर्ने सामग्रीमा अनुदानको व्यवस्थापन गरिने लगाएतका २ सय ६६ बुँदाकाे नीति सार्वजनिक गरिएकाे छ ।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार