दाङ, १९ असार ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति बनेसँगै लुम्बिनी प्रदेश सरकार सङ्कटमा परेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ ।
सत्ता साझेदार दल नेकपा एमालेले केन्द्रमा माओवादी केन्द्रको साथ छाड्ने गरी नेपाली कांग्रेससँग सहमति गरेसँगै सङ्घ सरकारसँगै लुम्बिनी सरकार पनि सङ्कटमा परेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले तत्कालै विकल्पबारे नसोचेको बताइएको छ । सङ्घमा प्रधानमन्त्री प्रचण्डले जुन प्रक्रिया अपनाउँछन्, प्रदेशमा पनि त्यही प्रक्रिया अपनाउने तयारी रहेको मुख्यमन्त्री निकट स्रोतले बताएको । यद्यपि यसबारे औपचारिक छलफल तथा निणर्य नभएको स्रोतले जनाएको छ ।
माओवादी लुम्बिनी प्रदेश मुख्य सचेतक ईन्द्रजीत थारुले केन्द्रको परिस्थिति हेर्दा सरकार छाड्नुपर्छ भन्ने अवस्था देखिए पनि राजीनामा दिएर जाने कि विश्वासको मत लिने भन्नेबारे छलफल गर्न बाँकी रहेको बताउनुभयो । लुम्बिनी सरकारमा सामेल भएको एमाले पनि सरकारबाट फिर्ता हुन केन्द्रको निर्देशन कुरेर बसेको छ । एमालेबाट लुम्बिनी सरकारमा ५ जना मन्त्री रहेका छन् ।
लुम्बिनीमा प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म तेस्रो सरकार गठन भइसकेको छ । २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावपछि एमाले-माओवादी गठबन्धनबाट एमालेका लीला गिरी मुख्यमन्त्री बन्नुभएको थियो । चार महिनापछि उक्त सरकार ढलेको थियो ।
त्यसपछि २०८० वैशाख १४ गते नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले माओवादी सहितको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर पाउनुभयो । चौधरी नेतृत्वको सरकार ११ महिनामात्र टिक्न सक्यो । गत चैत २४ गते माओवादी संसदीय दलका नेता जोखबहादुर बहादुर महरा मुख्यमन्त्री हुनुभएको हो ॥