सल्यान, २ साउन ।
सल्यानको कपुरकोट गाउँपालिकाले शैक्षिक जागरणको नीति अघि सारेको छ । गाउँपालिकाले नागरिक शिक्षित भएमात्रै अरु परिवर्तन गर्न संभव हुने भन्दै शैक्षिक जागरणको नितिलाई प्राथमिकतामा पारेको हो ।
शैक्षिक जागरण अभियान अन्तर्गत गाउँपालिकाले बितेको आर्थिक वर्ष २०८०/२०८१ मा कार्यसम्पादनका आधारमा उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
गाउँपालिकाले बितेको शैक्षिक सत्र २०८० मा भएको शैक्षिक प्रगति, कार्यसम्पादन लगायतमा मूल्यांकन गरी विभिन्न चार विधामा सम्मान गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले चालु शैक्षिक सत्रमा पनि निरन्तरता पाउने छ ।
गाउँपालिकाले विद्यालयको कार्ययोजना, नियमित बैठक, विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारीको विद्यालयमा उपस्थिति, बैठकमा भएका निर्णयको कार्यान्वयन लगायतमा मूल्यांकन गरी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई सम्मान गरेको अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै विद्यालयको शैक्षिक एवं भौतिक प्रगति, विद्यालयको भौतिक संरचना, शौचालय, विद्यार्थीको बसाई व्यवस्थापन, प्रविधिको प्रयोग, अंपागमैत्री संरचना लगायतका सुचकमा मूल्यांकन गरी विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरिएको अध्यक्ष पुनले बताउनुभयो ।
गत शैक्षिक सत्रमा मावितर्फ वीरेन्द्र माध्यमिक विद्यालय कपुरकोट–२ को विद्यालय व्यवस्थापन समिति, आधारभूततर्फ सरस्वती आधारभूत विद्यालय कपुरकोट–५ को जामुनेचौरको विद्यालय व्यवस्थापन समिति र प्रावितर्फ कपुरकोट–४ को प्रावि क्यूरेनीको विद्यालय व्यस्थापन समिति उत्कृष्ट भएको छ ।
यस्तै जीवनज्योति मावि रिम, कपुरकोट–४ मा रहेको गायत्री आधारभूत विद्यालय र जनचेतना आधारभूत विद्यालय कपुरकोट–१ को शिक्षक अभिभावक संघ उत्कृष्ट भएको छ ।
यस्तै नेपाल राष्ट्रिय मावि किमुचौरका प्रधानाध्यापक दामोदर शर्मा, सिद्ध आधारभूत विद्यालय कपुरकोट–६ ढाँरका प्रधानाध्यापक कमानसिंह बिक र प्रावि क्युरेनीका प्रधानाध्यापक डिलबहादुर थापा उत्कृष्ट हुनुभएको छ ।
यस्तै गत शैक्षिक सत्रमा जीवन ज्योति मावि रिम, गायत्री आधारभुत विद्यालय गाडापानी र प्रावि क्युरेनी उत्कृष्ट भएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र विद्यालयलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको छ ।
शैक्षिक जागरणलाई सफल बनाउनका लागि शिक्षा क्षेत्रमा असल काम गर्ने व्यक्तिलाई सम्मान गरीएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।
विद्यालयको भौतिक संरचनामा पालिकाले आवश्यक ध्यान दिएको र बालबालिकाको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्नका लागि चालु वर्षमा पनि विषेश कार्यक्रम गरिने उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
पालिकामा बितेको आर्थिक वर्ष २०८०/२०८१ देखि कपुरकोट जागरण अभियान संचालन गरिएको र सोहि अभियान अन्तगर्त शैक्षिक जागरणलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।
अभियानलाई सफल बनाउनका लागि आवश्यक बजेट बिनियोजनदेखि शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र विद्यालयलाई सम्मान गरिएको प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।