२०८१ असोज १८ गते शुक्रवार

स्व.कुबेर बहादुर शाह भलिबल प्रतियोगिता शुरू



दाङ, ३ असोज ।
तुलसीपुरमा आजदेखि स्वर्गिय कुबेर बहादुर शाह भलिबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको उदघाटन प्रतिनिधि सभा सदस्य दीपक गिरीले गर्नुभएको हो ।

उद्घाटन समारोहमा गिरीले स्वर्गीय कुबेर बहादुर शाहको भलिबल खेलमा योगदानको प्रशंसा गर्दै उहाँले खेल क्षेत्रको विकासमा खेलेको भूमिकालाई सम्झन योग्य रहेको बताउनुभयो । उहाँले स्वर्गीय शाहले भलिबललाई नेपाली समाजमा लोकप्रिय बनाउन ठूलो योगदान पुर्‍याउनुभएको बताउनुभयो ।

प्रतियोगिता नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति सुरेश हमालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहमा सभापति हमालले पनि शाहको योगदानलाई स्मरण गर्दै दाङ क्षेत्रले खेलकुदमा सधैं गौरवपूणर् इतिहास बोकेको बताउनुभयो ।

उहाँले यस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडीहरूलाई थप हौसला र प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले कुबेर बहादुर शाहलाई भलिबल गुरूको रूपमा स्थापित व्यक्तित्वका रूपमा सम्मान व्यक्त गर्नुभयो । उहाँले शाहले खेलेको अग्रणी भूमिकाको कारण भलिबल खेलको विकास सम्भव भएको उल्लेख गर्नुभयो ।

यसैगरी, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले दाङ क्षेत्रको खेलकुदमा उल्लेखनीय इतिहास रहेको र भविष्यमा पनि यस्ता प्रतियोगिताहरूले दाङलाई खेलकुदको प्रमुख केन्द्र बनाउन सक्ने धारणा राख्नुभयो ।

उहाँले खेलकुदलाई विकासको माध्यम मान्दै युवा पुस्तालाई खेलमा सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । उद्घाटन समारोहमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, महाधिवेशन प्रतिनिधि शुष्मा गिरी, बिमल रिजाललगायतले खेलकुदले समाजलाई एकजुट गर्ने र विकासको मार्गमा अघि बढाउने शक्ति रहेको बताउँदै यस्ता प्रतियोगिताहरूको आवश्यकता औंल्याउनुभयो ।

प्रतियोगितामा दाङ तथा आसपासका १२ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताले दाङको खेलकुद क्षेत्रलाई थप प्रोत्साहन गर्ने र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगितामा स्थानीय तथा क्षेत्रीय स्तरका खेलप्रेमीहरूको ठूलो उपस्थिति अपेक्षित रहेको आयोजक समितिले जनाएको छ ।

यसैबिच प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा ग्रेट अरनिको मावि तुलसीपुरले शानदार विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा ग्रेट अरनिको माविले गोरखा मावि, लमहीलाई २५-१८ र २५-१७ को सोझो सेटमा ३-० ले पराजित गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन देखाएको हो ।

प्रतियोगिताको प्राविधिक संयोजक राजु यरिका अनुसार भोलि दोस्रो दिनको खेलहरूमा राप्ती बबई क्याम्पस, तुलसीपुर र ड्राइभर स्टाफ रोल्पा टिमबीच पहिलो भिडन्त हुनेछ । खेल बिहान ७ बजे सुरु हुने छ ।

दोस्रो खेलमा एचआर मिडिया हाउस, तुलसीपुर र मावि तुलसीपुर सेन्टरबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा नेबिसंघ सल्यान र हेलो मोबाइल ‘बी’ टिम आमनेसामने हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५ हजार कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद रु. ६५ हजार र ३५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा पुरस्कृत गरिनेछ । बेष्ट प्लेयर हुने खेलाडीले नगद ३, ५००, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, बेष्ट सेटर, बेष्ट सर्भर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर र बेष्ट लिब्रो खेलाडीहरूलाई नगद रु. २,५०० र ट्रफी प्रदान गरिने आयोजक समितिका सदस्य गोरख वलीले दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार