२०८१ मङ्सिर २४ गते सोमवार

राप्ती बबई क्याम्पसले मनायो ३४ औँ स्थापना दिवस



तुलसीपुर, १२ मंसिर ।

राप्ती बबई क्याम्पस तुलसीपुरले ३४ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले आज विभिन्न कार्यक्रम गरी ३४ औँ स्थापना दिवस मनाएको हो ।

प्रतिनिधि सभा सदस्य दीपक गिरीले राप्ती बबई क्याम्पसले अहिले बाह्य जिल्लाका विद्यार्थीहरूलाई समेत आकर्षित गर्दै शैक्षिक केन्द्रका रूपमा विकास भइरहेको बताउनुभएको छ।

क्याम्पसले हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै उहाँले यसलाई थप सुदृढ बनाउन आंगिक क्याम्पसको मान्यता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले थप विषय र कार्यक्रमहरू सञ्चालन गरेर विद्यार्थीहरूको शैक्षिक आवश्यकता पूरा गर्न क्याम्पस व्यवस्थापनले अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभयो।

राप्ती बबई क्याम्पसले क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा पहिचान बनाउन थालेको भन्दै यसलाई थप प्रभावकारी र व्यावहारिक बनाउन आंगिक क्याम्पसको मान्यता दिलाउनु अहिलेको आवश्यकता रहेकाे बताउनुभयाे।

कार्यक्रममा उहाँले शिक्षाको गुणस्तर सुधार्न र क्षेत्रीय विकासमा योगदान पुर्याउन सरकार र सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने पनि औंल्याउनुभयो।

३४ औं स्थापना दिवस तथा १९ औं साधारणसभामा प्रमुख अतिथि गिरीले क्याम्पसको स्तरोन्नति र विद्यार्थीहरुको उज्जवल भविष्यका लागि सरोकारवालाहरु जुनसुकै आस्था र विचारको भए पनि त्यसको प्रभाव क्याम्पसमा पर्न नहुने समेत उहाँले धारणा राख्नुभयो ।

त्यस अवसरमा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर प्रसाद भण्डारीले देशभरका कलेजहरूको प्रभावकारी व्यवस्थापन र शैक्षिक सुधारका लागि विद्यार्थी संख्याका आधारमा केही कलेजलाई मर्जर गर्ने योजना रहेको जानकारी दिनुभयाे।

उहाँका अनुसार, हाल देशभर १ हजार ४ सय ३२ कलेज सञ्चालनमा छन्, जसमध्ये ५०० भन्दा बढी कलेजमा १०० भन्दा कम विद्यार्थी रहेका छन्। यस्तो अवस्थाले शैक्षिक गुणस्तर कायम राख्न समस्या उत्पन्न गरेको भन्दै उहाँले यस्ता कलेजहरूलाई एकीकृत (मर्जर) गर्ने रणनीति रहेकाे बताउनुभयो।

सदस्य सचिव भण्डारीले भन्नुभयाे-“कम विद्यार्थी भएका कलेजहरूले शिक्षा, स्रोतसाधन, र शैक्षिक वातावरणमा प्रभावकारीता दिन सकेका छैनन्। यी कलेजहरूको मर्जरबाट स्रोतसाधनको राम्रो उपयोग हुनेछ र शैक्षिक गुणस्तरमा सुधार आउनेछ।”

कार्यक्रममा सहभागी शिक्षाविद्हरूले पनि कलेजहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम उपयोगी हुने धारणा राखेका थिए।

 तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले हालको शैक्षिक प्रणालीले भोगिरहेको समस्याहरू समाधान गर्न अध्ययन, अनुसन्धान र व्यावहारिक शिक्षामा आधारित पद्धति अपनाउनुपर्नेमा जोड दिनुभयाे।  उहाँले वर्तमान शिक्षा प्रणालीलाई “घोकन्ते विद्या” मा सीमित राख्दा विद्यार्थीहरूको सिर्जनात्मकता र व्यवहारिक ज्ञानको विकासमा बाधा पुगेको टिप्पणी गर्नुभयाे।

उहाँले भन्नुभयाे-“हाम्रो शिक्षा पद्धति अहिले पनि पुरातन घोकन्ते प्रणालीमा अल्झिरहेको छ। यसलाई व्यावहारिक र अनुसन्धानमूलक बनाउन सक्ने उत्कृष्ट संस्थाहरू स्थापना र सञ्चालनको खाँचो छ। परीक्षा प्रणालीलाई पनि सुधार गर्नुपर्ने र विद्यार्थीहरूलाई सिर्जनशील सोच र अनुसन्धानमुखी अध्ययनतर्फ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

नेकपा एमाले दाङका सचिव श्याम डाँगीले कलेजलाई राजनीतिक थलो बनाउन नहुने धारणा व्यक्त

दाङ: नेकपा एमाले दाङका सचिव श्याम डाँगीले कलेजको व्यवस्थापन र शैक्षिक सुधारका लागि साझा धारणा बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कलेजहरूलाई राजनीतिक हस्तक्षेपबाट जोगाएर शैक्षिक सुधार र विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले कलेजका समस्या समाधानका लागि सबै पक्षले जिम्मेवारीसाथ आ-आफ्नो भूमिका निभाउनुपर्नेमा सहमति जनाएका थिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्यहरु बुद्धिराम भण्डारी, अनारकली मिया, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी,क्षेत्रिय सभापति जगत खड्का,नेकपा एकिकृत समाजवादी पाटी दाङका सचिव दिलबहादुर पुन,राष्ट्रिय जनमाेर्चा दाङका अध्यक्ष गणेश आचार्य ,तुलसीपुर बहुप्राबिधिक शिक्षालयका प्रमुख बसन्त आचार्य ,प्राध्यापक भुप बहादुर बुढाथाेकी,गुरूजजुर माविका सहायक प्रधानाध्यापक प्रमोद न्याैपाने लगायतले मन्तव्य राख्नुभएको हो ।

क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख गणेश पार्धेले वार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएकाे थियाे भने सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार