२०८१ माघ ६ गते आइतवार

घटुवा निणर्यप्रति कर्मचारी युनियनको गम्भीर आपत्ति



दाङ, १५ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिका बैठकले कर्मचारी घटुवा सम्बन्धी गरेको निणर्यप्रति नेपाल निजामती कर्मचारी युनियन कार्य समिति तुलसीपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पालिका आफैले निर्माण गरी कार्यान्वयनमा ल्याएको कानूनको पालना नगरी कर्मचारीहरूको मनोबल कमजोर पार्ने गरी घटुवा गरेकोप्रति कर्मचारी युनियनले आज एक विज्ञप्ती जारी गर्दै घोर आपत्ति जनाएको हो ।

‘हामी कर्मचारीहरूको अभिभावकको रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरूको सेवा सुविधाको वृद्धिका लागि पहल गर्नुपर्ने हो, तर सबै कर्मचारीहरुको मनोबल गिर्ने गरी गर्नु भएको गतिविधि सुधार गरी आगामी दिनहरुका समग्र कर्मचारीहरुको अभिभावकिय जिम्मेवारी निर्वाह गरी सुमधुर सम्बन्ध स्थापना गर्ने तर्फ जोड दिन हुन अनुरोध गर्दछौं ’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन कार्य समिति तुलसीपुरका अध्यक्ष यम नारायण सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा सबैको सहयोग तथा प्रयासबाट नै उपमहानगरपालिकाको विकास र संवृद्धि संभव भएको हुँदा सोही दिशातर्फ अग्रसर हुन अनुरोध गरिएको छ ।

कर्मचारी बढुवा सम्बन्धि विषय हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । सो विषय अदालतको निर्णय अनुसार हुनुपर्नेमा अदालतको समेत अवहेलना हुने गरी २०८१ कार्तिक १३ गते बसेको २६ औं नगरपालिका बैठकको निर्णय नम्बर २६ खारेज गरी पिडित कर्मचारीहरुलाई न्याय दिन सरोकारवाला पक्षसंग जोडदार माग गदै कर्मचारीहरुले आफ्नो अधिकारको लागि गरेको शान्तीपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार