२०८१ माघ ६ गते आइतवार

कार्यपालिका निणर्य कार्यान्वयन नगर्ने सहमति भएपछि कर्मचारीहरूको आन्दोलन फिर्ता



तुलसीपुर, २० मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले कर्मचारीको तह घटुवा गरेको विरोधमा आन्दोलनरत कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् । नगर प्रमुख टिकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीसहितका पालिका प्रतिनिधिहरूसँग सहमति भएपछि कर्मचारीहरूले आजदेखि आन्दोलन रोक्ने निणर्य गरेका हुन् ।

सहमतिको आधारमा कर्मचारीहरूले ५ बुँदे सहमति स्वीकार गरेपछि आन्दोलन फिर्ता भएको हो । पालिकाले स्थानीय तहका कर्मचारीहरूको तहवृद्धि सम्बन्धी कार्यविधि २०७८ अनुसार बढुवा गरिएका ३३ जना कर्मचारीमध्ये १२ जना पुनरावेदनमा गएका र अन्य १४ जना सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकाले मुलुकी देवानी संहिता कार्यविधि २०७४ को दफा २३१(ख) बमोजिम हालको पद कायम राखि खाइपाइ आएको सेवासुविधा उपलब्ध गराउने र सर्वोच्च अदालतबाट उक्त मुद्धामा अन्तिम फैसला आएमा सोही बमोजिम हुने गरी यथाशीघ् नगर कार्यपालिका बैठकमा निणर्य गर्ने सहमति भएको छ ।

यस्तै अस्थायी करार कर्मचारीहरूको करार सम्झौता अविलम्ब गर्ने, कर्मचारी नियुक्ति र कार्यालयका अन्य कार्यहरू जनप्रतिनिधिसँग समन्वय गरेर गर्ने पनि सहमति गरिएको छ । यसैगरी, प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको तह बृद्धि सम्बन्धी कार्यविधि, २०७८ उपर गरेको पत्राचारका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको रिटको पालिकाले अपनत्व ग्रहण गरी सोमा लाग्ने सम्पूणर् खर्च व्यहोर्ने सहमति भएको छ ।

सहमतिको कागजमा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत डाँगी र सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले हस्ताक्षर गर्नुभएको छ । आन्दोलनरत कर्मचारीको तर्फबाट संघर्ष समितितका संयोजक ललित बहादुर घर्ति, उपसंयोजक टोप बहादुर डाँगी, सचिव झरेन्द्र खरेल, पदम ज्ञवाली र केशव डाँगीले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार