
‘जाडोमा बढी भोक लाग्छ, काम गर्ने खासै जाँगर लाग्दैन । सुतेर बसिरहूँ जस्तो लाग्छ ।’ जाडोमा अधिकांशलाई यस्तै हुन्छ ।
यस्तो बानीले आनन्द त केहीबेर दिन सक्ला । तर दैनिक यस्तै दिनचर्या भयो भन्ने मान्छेलाई वाक्कदिक्क बनाउँछ । यसले बहुमूल्य समय त्यसै खेर मात्र जाँदैन । जाडोमा बढी खाने र आराम मात्र गर्दा मोटोपनको समस्या पनि बढ्छ ।
जाडोमा कसरी बढ्छ तौल ?
चिसोयामको प्रभाव हाम्रो शरीरको भित्री तापक्रममा पनि पर्छ । जसकारण मेटाबोलिजम कमजोर हुन्छ । मेटाबोलिजमले नै हामीले खाएको खानेकुरालाई पचाउन मद्दत गर्छ । यस्तोमा जाडोमा खाना पचाउनुका साथै शरीरको तापक्रम पनि सन्तुलित राख्न मेटाबोलिजमले बढी काम गर्ने हुँदा यता पाचन प्रक्रिया सुस्त भइदिन्छ । तापक्रम नियन्त्रण गर्न बढी ऊर्जा खपत हुँदा छिटो भोक पनि लाग्छ ।
एक त यो समय धेरै भोक लाग्ने हुँदा टन्न खाने गरिन्छ । अर्को भनेको मेटाबोलिजम सक्रिय ढङ्गले पचाउने क्रियामा भाग लिन नसक्दा टन्न खाएको खानेकुराबाट प्राप्त क्यालोरी राम्रोसँग खपत हुन पाउँदैन । फलस्वरूप अनावश्यक रूपमा बोसो शरीरमा जम्मा हुन्छ ।
यति मात्र कारण हैन, चिसो मौसममा बाहिर निस्कने र शारीरिक गतिविधि कम हुन्छ । शारीरिक गतिविधि कम हुँदा पनि क्यालोरी खपत हुन पाउँदैन । र, तौल बढ्न थाल्छ । यी कारणले बढेको तौलाई चिकित्सकीय भाषामा ‘फ्याट टिस्यु’ भन्ने गरिन्छ ।
पहिले नै मोटोपन भएकालाई झन् बढी समस्या
सबैभन्दा बढी पीडित पहिलेदेखि मोटोपनको समस्या भएकाहरू हुन्छन् । उनीहरुमा यो समय बोसो थप बढ्ने जोखिम उच्च हुन्छ । यसो त शरीर मोटो भएर उनीहरुमा तुलनात्मक रूपमा शारीरिक सक्रियता कम हुन्छ । चिसो मौसममा त केही काम गर्ने, हिंडडुल गर्ने वा व्यायाम गर्ने इच्छा समेत घट्छ ।
सक्रियता कम हुँदा क्यालोरी खपत हुन पाउँदैन । आवश्यकता भन्दा बढी खानेकुरा खाइन्छ । जाडोमा मेलनिन र घ्रेलिन हर्मोनको सक्रियता पनि बढ्छ । यी हर्मोनले खानेकुराको तलतल र भोक बढी जगाउँछ । यस्तोमा मोटोपन भएका व्यक्तिलाई पटक-पटक भोक लागिरहन्छ ।
पाचन प्रक्रियाले शरीरमा पहिले रहेको बोसोलाई पगाल्न सुस्त गर्छ । भोक लागेअनुसार खाइरहँदा अनावश्यक बोसोको रूपमा शरीरमा जम्मा भई तौल झन् बढ्छ ।
तौल बढ्नु यसै पनि एक समस्या हो । यो समस्याले मधुमेह, उच्च रक्तचाप र मुटुरोग जस्तो दीर्घरोगको जोखिम पनि बढाउँछ । जुन अर्को ठूलो समस्या बढाउँछ । यी सबै जोखिमलाई मध्यनजर गर्दै सबै जाडोमा तौल बढाउने कारकलाई नियन्त्रण गर्नु आवश्यक छ ।
जाडोमा तौल घटाउन के गर्ने ?
तौल घटाउन शरीरमा चाहिने हिसाबले खानपानमा ध्यान दिने, शरीरको तापक्रम नियन्त्रण गर्न शारीरिक सक्रियता बढाउने गरेमा अनावश्यक बोसो कम हुन्छ ।
जस्तो कि( स्वस्थ र पौष्टिक खानेकुरा सन्तुलित रूपमा खाने, खानेकुरा टन्न नखाने, खानेकुरा खाँदा बोसोयुक्त खानेकुरा कम, तरकारी, फलफूलको मात्रा बढी खाने गर्नुपर्छ ।
– रात्रि भोजन हल्का खालको खानेकुराबाट गर्ने, आधा रातमा खानेकुरा खाने बानी भए त्याग्ने ।
– प्रशोधित, चिनीयुक्त खानेकुरा, अत्यधिक नुन भएको, तारेको, भुटेको खानेकुरा कम खाने ।
– दिनमा तीनदेखि चार लिटर पानी खाने ।
– जाडोयाममा अल्छी नगरी नियमित व्यायाम गर्ने, बाहिरको मौसम खराब भए घरभित्रै भए पनि व्यायाम गर्न नछुटाउने।
– निद्रा पूरा नहुँदा पनि तौल बढ्ने हुँदा दैनिक आठ घण्टा सुत्ने प्रयास गर्ने ।
– तनाव व्यवस्थापन गर्ने ।
– स्वास्थ्य समस्या भएमा चिकित्सकलाई भेट्ने ।
– जथाभावी चिकित्सकको सल्लाह बिना औषधि नखाने ।
अनलाइन खबरबाट साभार