
दाङ, १० माघ ।
महिलाहरू चुलो-चौकोमै सीमित रहनुपर्छ भन्ने मान्यतालाई तोड्दै दाङको ग्रामिण भेगका महिलाहरू आजभोलि बाख्रापालन व्यवसायबाट आत्मनिर्भरताको बाटोमा सक्रिय हुन थालेका छन् । कुनै समय घरको गर्जो टार्न परिवारमै आश्रित रहने उनीहरू अहिले व्यवसायिक रूपमा बाख्रा पालेर उद्यमशीलता संगै परनिर्भरता अन्त्यका लागि अग्रसर बनेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४, खुमखानीकी उमा घर्तिको गोठमा अहिले माउ, पाठापाठी गरी ६२ वटा बाख्रा छन् । साँझ-बिहान बाख्राको स्याहार-सुसारमै उहाँलाई भ्याइनभ्याइ छ ।
स्थानीय सामुदायिक बनमा दिनभर चराएर साँझ बाख्रा घर फर्कन्छन् भने साना पाठापाठीलाई घरमै स्याहारसुसार गर्नु उहाँको दिनचर्या हो । उमासँगै बाख्राको हेरचाहमा साँझ-बिहान उहाँका श्रीमान् अमरबहादुर घर्तिले पनि सघाउनुहुन्छ ।
घर्तिले यो वर्षमात्रै झन्डै २० वटा खसीबोका बिक्री गरेर डेढ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । उपमहानगरपालिका भए पनि यो गाउँमा अहिले सम्म सडक पुगेको छैन । बिजुली पनि यसै वर्ष विस्तार भएको छ । सडक सुविधा नभए पनि व्यापारीहरू खसीबोका खरीद गर्न खुमखानी नै पुग्ने गर्छन् । विकट बस्तीमा बाख्रापालन व्यवसायबाट उमाको परिवार खुशी छ ।
तुलसीपुर-३, राम्री गाउँका सोनु थापा पनि ४ वर्ष भारतमा बसेर घर फर्केपछि अहिले व्यवसायिक रूपमा बाख्रापालन गरिरहनुभएको छ । उहाँको गोठमा अहिले ३० भन्दा धेरै बाख्रा छन् ।
भारतको बहराइचमा रोजगारी गरेर घर फर्केपछि डेढ वर्षसम्म घरायसी काममै सीमित हुँदा घर खर्च चलाउन धौ-धौ थियो । त्यसपछि उहाँले बाख्रापालन व्यवसायका लागि तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिनुभयो ।
सोही कर्जाबाट व्यवसाय सुरु गरेकी थापा अहिले उद्यमशीलतामा जोडिएपछि घर चलाउन र सन्तानको शिक्षामा सहज भएको बताउनुहुन्छ । यसपालि थापाले एक लाख बढीको खसीबोका बिक्री गरिसक्नुभएको छ भने केही बिक्रीका लागि तयारी अवस्थामा छन् ।
घर्ति र थापा जस्तै छिल्लीकोटका लालमती खड्का पनि बाख्रा पालेर वर्षमा लाखौं रुपैयाँ कमाइरहनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको यस गाउँमा प्रायः हरेक घरमा महिलाहरूले बाख्रा पाल्ने गरेका छन् । खड्काको गोठमा पनि ४५ वटा बाख्रा थिए ।
गएको दशैंमा मात्र करिब एक लाख रुपैयाँको खसीबोका बिक्री गर्नुभयो । पहाडी क्षेत्र र भिरालो जमिन भएकाले यहाँ अन्नबाली त्यति उत्पादन हुँदैन, तर बाख्रापालन व्यवसायबाट भने मनग्य आम्दानी हुने गरेको खड्काले बताउनुभयो ।
गाउँमा चरिचरण क्षेत्र पर्याप्त नहुँदा समस्या हुने गरेको छ । जंगलमा बाख्रा छोड्न नपाइने भएपछि उहाँहरूले डालेघाँसको भरमा बाख्रा पाल्दै आउनुभएको छ । जागिर नभए पनि ज्याला-मजदुरी गर्नुभन्दा बाख्रापालन व्यवसाय आनन्दको पेशा रहेको उहाँले बताउनुभयो ।
उहाँहरू तीन जना प्रतिनिधि पात्र मात्रै भए पनि जिल्लाको ग्रामिण भेगका अधिकांश महिलाहरू यो व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । बाख्रापालन व्यवसायले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ भने सामाजिक र पारिवारिक संरचनामा पनि सुधार ल्याएको छ । रेडियो हाम्रो पहुँचमा बसन्त पौडेलले समाचार लेख्नुभएको छ ।