
दाङ, २० माघ ।
तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढी किशोरीलाई एचपिभि खोप लगाइने भएको छ । नगरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १० हजार ३ सय २७ र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका १ हजार १२ जना गरी ११ हजार बढी किशोरीलाई एचपिभि खोप लगाइने भएको हो ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन माघ २२ गतेदेखि ३० गतेसम्म तुलसीपुरमा पनि एचपिभि खोप लगाउन लागिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो । उहाँले १ सय खोप केन्द्रमा १ सय २२ जना स्वाथ्यकर्मी परिचालन गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, स्वास्थ्य कार्यालय दाङका भानुज्योति वली, स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्यौपाने , बालरोग विषेशज्ञ डा. किशोर खत्री लगायते सबै लक्षित किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्नुभएको छ ।
खोप अभियान सफल बनाउन विद्यालय, स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूबीच समन्वय गरिएको स्वास्थ्य महाशाखा प्रमुख न्यौपानेले बताउनुभयो ।