२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा मनाइयो चौधौँ सारङगी दिवश



तुलसीपुर, २१ माघ ।

सारङगी बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि सरोकारवालाहरूले जोड दिएका छन्। नेपाली सांगीतिक धरोहरको रूपमा रहेको सारङगी कुनै समय सूचना र सञ्चारको रूपमा समेत भरपर्दो माध्यम थियो। विशेषतः गन्धर्व समुदायका व्यक्तिहरूले बजाउने सारङगी अब अन्य समुदायका व्यक्तिहरूले पनि बजाउँदै आएका छन्।

लोक बाजा मध्य गुरु बाजा मानिएको सारङगी, युवा पुस्तामा आकर्षण नदेखिनु र पछिल्लो पिढीमा चेतना फैलाउन कला तथा संस्कृतिको संरक्षणका लागि सरोकारवालाहरूले गम्भीर बन्नुपर्ने बताएका थिए।

बसन्त पञ्चमीका अवसरमा हरेक वर्ष तुलसीपुरमा सारङगी दिवश मनाउने गरिएको छ। दिवशका अवसरमा तुलसीपुर-४ रक्षाचौरमा गन्धर्व संगीत समाज सारङगी उत्पादन समूहले आयोजना गरेको चौधौँ सारङगी दिवशका अवसरमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्।

सारङगी लोक बाजा समूहमा मुख्य बाजा रहेपनि, स्थानीय सरकारले यसको संरक्षणमा कुनै चासो नदिएको शुसिल गन्धर्वले बताए। धेरैजसो स्थानहरूमा सारङगी बाजा बजाउने परम्परा लगभग हराउँदै जान थालेको छ। सारङगीलाई गन्धर्व समुदायले जनैको रूपमा लिएपनि, कला र संस्कृतिको संरक्षणमा स्थानीय सरकारले कुनै पहल कदमी नगरेको उहाँले गुनासो गर्नुभयोे।

समाजका अध्यक्ष अर्जुन गन्धर्वको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।

प्रमुख अतिथि वडा अध्यक्ष थापाले गन्धर्व समुदायको मौलिक संस्कृति तथा सारङगी बाजाको संरक्षणका लागि आफू सहकार्य गर्न संधै तयार रहेको बताउनुभयो।

विशिष्ट अतिथि ओपेन्द्र बस्नेतले विदेशी बाजा गितारले स्थान पाएपनि नेपाली बाजा सारङगीले स्थान नपाइरहेकाले यसको संरक्षणमा स्थानीय सरकारको अग्रसरता हुनुपर्ने बताउनुभयो।

नेत्रहीन संघ दाङका अध्यक्ष रामबहादुर खड्का,सारङगी बाजा लुम्बिनी प्रदेशका गुरु शालीकराम गन्धर्व, कलाकार गणेश गन्धर्व लगायतले सारङगीको संरक्षण र कला, संस्कृतिको पहिचानका लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए।

समावेशी आमा समूहको नौमती बाजा समूहसहित स्थानीयहरूको सहभागितामा भएको कार्यक्रमको सहजिकरण कलाकार शुसिल दुखि गन्धर्वले गर्नुभएको हो।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार