२०८२ बैशाख ८ गते सोमवार

दलित महिला संघ दाङले उद्यमी बन्न महिलालाई ६ लाखको बीउँ पुँजी वितरण गर्‍यो



दाङ,१९ फाल्गुण।दंगिशरण गाउँपालिका- ६, परसडुवाका ममता परियार ब्राेइलर पाल्ने सोचमा हुनुहुन्छ। कुखुरा पालेर उद्यमी बन्ने योजनासहित उहाँले तीन दिनको तालिम समेत लिइसक्नुभएको छ।

व्यवसाय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन कठिनाइ भइरहेको बेला दलित महिला संघ, दाङद्वारा सञ्चालित घुम्ती कोषबाट उनलाई ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। उक्त सहयोग रकम पाउँदा ममता अत्यन्तै खुशी हुनुहुन्छ।
“मैले सानो पूँजीबाट व्यवसाय सुरु गर्दैछु।

ममताले भन्नुभयो- “तालिममा सिकेका ज्ञान र प्राप्त सहयोगको सही उपयोग गरेर म आफ्नो व्यवसायलाई सफल बनाउन चाहन्छु।”

ममता जस्तै तुलसीपुर-३, दमारगाउँकी अनिता परियार सिलाई-कटाई व्यवसायमा सक्रिय हुनुहुन्छ। उहाँको यो पेशालाई अझ व्यवस्थित बनाउने योजना छ। परियारलाई पनि घुम्ती कोषबाट आर्थिक सहयोग प्राप्त भएपछि उहाँको व्यवसायमा थप ऊर्जा प्राप्त भएको छ।

अनिताले भन्नुभयो- “आर्थिक सहयोगले मेरो व्यवसायलाई अझ सुदृढ बनाउने अवसर जुराएको छ। अब म आधुनिक सिलाई मेसिनहरू थपेर व्यवसायलाई विस्तार गर्ने सोचमा छु।”

उहाँका अनुसार आफ्नो सीपलाई अझ निखार्दै आम्दानी बढाउने लक्ष्य राख्नुभएको छ। स्थानीय दलित महिलाहरूलाई रोजगारी दिने र स्वरोजगारको अवसर सिर्जना गर्ने उहाँको दीर्घकालीन योजना छ।

यस्तै दंगिशरण गाउँपालिका-६,बागरकी इन्द्रा परियार बंगुर पालन व्यवसायमा रमाइरहनुभएको छ। यसअघि पनि संस्थाको घुम्ती कोषबाट आर्थिक सहयोग प्राप्त गरिसकेकी इन्द्राले अहिले तालिम लिएपछि आफ्नो व्यवसायलाई अझ व्यवस्थित गर्ने योजना बनाउनुभएको छ।

उहाँले भन्नुभयो- “पहिला तालिम थिएन, तर अहिले तालिम लिएपछि म अझ आत्मविश्वासी भएकी छु। व्यवसायलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न हौसला मिलेको छ।”

आधुनिक प्रविधि अपनाएर बंगुर पालनलाई व्यावसायिक रूपमा विस्तार गर्ने र स्थानीयस्तरमै मासु उत्पादन बढाएर बजारको माग पूरा गर्न सके मनग्य आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ।पछिल्लो समय स्थानीय स्तरमा दलित महिला उद्यमशीलता बढ्दै गएको छ।

दलित महिला संघ दाङले उद्यम गर्न चाहने र उद्यम गरिरहेका २० जना महिलालाई सोमबार बीउँ पुँजी वितरण गरेको छ। महिलालाई उद्यममार्फत स्वरोजगार बनाउने र आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि संघले बीउँ पुँजी वितरण गरेको हो।

संघले उद्यम शुरुवात गर्ने महिलालाई ३५ हजार र उद्यम गरिरहेका महिलालाई २५ हजारका दरले बीउँ पुँजी रकम वितरण गरेको हो। दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले २० जना महिलालाई ६ लाख बराबरको रकम बीउँ पुँजी वितरण गरिएको बताउनुभयो।

उहाँले घुम्ती कोष अन्तर्गत महिलालाई बीउँ पुँजी रकम वितरण गरिएको बताउनुभयो। घोराही उपमहानगरपालिका र दंगिशरण गाउँपालिकाका ३/३ जना र तुलसीपुर उपमहानगरपालिकाका १४ जना गरी २० जना दलित महिलालाई रकम वितरण गरिएको हो।

अध्यक्ष कराराले स्वरोजगारलाई प्रवर्द्धन गर्न र आर्थिक रूपमा दलित महिलाहरूलाई सक्षम बनाउन समूह बनाएर विगतका वर्षदेखिनै घुम्ती कोषमार्फत सहयोग गर्दै आएको बताउनुभयो।

कोषबाट प्राप्त रकम परिचालन गरेर महिलाहरूले मासु पसल, बंगुर पालन, कुखुरा पालन, चटपटे पसल, किराना पसल, कटाई सिलाई लगायतका व्यवसायमा पुँजीको लगानी गर्नेछन्।

बीउँ पुँजीको रकम हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले विभेद अन्त्यका लागि महिलाहरू आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। तुलसीपुर–११ का अध्यक्ष समेत रहनुभएका संयोजक रावतले आर्थिक रूपमा सक्षम भएर आत्मनिर्भर हुनका लागि उद्यमी बन्नुपर्ने बताउनुभयो।

उद्यमशीलताको प्रवर्द्धनका लागि संस्थाले बीउँका रूपमा चेक हस्तान्तरण गरेकाले अब व्यवसायको उत्पादकत्व बढाउन उद्यमीहरू अझ बढी अग्रसर हुनुपर्ने रावतले बताउनुभयो।

अध्यक्ष रावतले भन्नुभयो- “विगतमा राज्यको शासन प्रणालीमा दलित समुदाय र समग्र महिलाहरू माथि विभेद रहेको थियो। अहिले संविधानमै समानताको व्यवस्था भएपछि धेरै सहज भएको छ।”

तर, उहाँले टाठाबाठा वर्गका बीचमा विभेद हटे पनि साधारण नागरिकहरूबीच अझै पनि विभेद कायम रहेको बताउँदै आत्मनिर्भरताका लागि स्वयं महिलाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

वितरण कार्यक्रममा तुलसीपुर-१० का वडा सदस्य सरु सुनार, शुभलक्ष्मी महिला समूहका अध्यक्ष सावित्रा नेपाली लगायतले सानो पुँजीले महिलालाई व्यवसायमा सफलताका लागि सहजता गराउने बताउनुभयो। कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नुभएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार