२०८२ जेष्ठ १० गते शनिवार

सहकारी समृद्धिको आधार र चुनौतीहरू



सामान्य अर्थमा सहकारी भन्नाले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझिन्छ। अर्को अर्थमा भन्नुपर्दा, “एकका लागि सबै र सबैका लागि एक” भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि गरिने सामुहिक प्रयास नै सहकारी हो।

सहकारीमा संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु, समुदायको हितका लागि संगठित भई सहकारीका सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्नु, पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु,समाजमा व्याप्त गरिवी, व्यापारिक एकाधिकारजस्ता आर्थिक र सामाजिक विसंगतिहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूको सामाजिक न्याय दिलाउनु, सहकारीमा मुलतः आर्थिक, सामाजिक, न्यायिक र शैक्षिक उद्देश्यहरू राखेर स्थापना गरिएको हुन्छ।

अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूको आधारमा सदस्यहरूमा छरिएर रहेको स्रोत र साधनलाई एकीकृत गरी सदस्यहरूको निर्वाचित प्रतिनिधिद्वारा सञ्चालित र प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारी संस्थाको माध्यमबाट प्रत्येक सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकारी स्थापना भएका हुन्छन्। ६० जना स्थानीय बासिन्दालाई सहभागिता गराएर प्रत्येक व्यक्तिबाट शेयर वापत रु. १० का दरले जम्मा गरी ६ सय पुँजी कायम गरी नेपालमा पहिलोपटक स्थापना गरिएको संस्था बखान सहकारी वि.सं. २०१३ साल चैत्र २० गते दर्ता भएको थियो। सोही दिनलाई हाल सहकारी दिवस भनेर मनाउने प्रचलन रहेको छ। नेपालका सहकारी जन्मदाता बखानसिंह गुरुङको त्यो सोच र योजनाले आज नेपालमा ३५ हजार भन्दा बढी सहकारीहरू स्थापना भएका छन्। एक महान व्यक्ति बखानसिंह गुरुङलाई आज सबैले सम्झनु पर्दछ।

“मर्यादित सहकारीः समुन्नत समाज” भन्ने मूल नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस-२०८१ देशभर आज मनाइरहेका छौं। उक्त नारालाई सार्थकता बनाउन सबै सहकारीहरूले सक्षम बन्नुपर्छ। नेपालमा अहिले सहकारीमा केहि समस्या देखिएका छन्। केहि सहकारीमा समस्या देखिएतापनि नेपालमा भएका ३५ हजार मध्य सबै सहकारीहरू भने खराब छैनन् र समस्या देखिएका छैनन्। देशमा मर्यादित सहकारीहरू पनि छन् जसले स्थानीय समुदाय र राष्ट्रको समृद्धिका लागि थुप्रै उदाहरणीय कार्यहरू गरेका छन्। सहकारीहरूद्वारा विद्यालय, रेडियो, डेरी उद्योग, पेट्रोलपम्प, तेल मिल, जैविक मल उत्पादन लगायत थुप्रै कार्यहरू गरेका छन्।

केही सहकारीका सञ्चालकहरू र केही व्यक्तिका कारण सहकारी प्रति समुदायमा विश्वासको कमी आएको छ। एउटै सहकारीको कारण सबै सहकारी यस्तै हुन भन्ने मानिसमा त्यस्तो सोचको विकास भएको छ। सहकारी सदस्यहरू बीच बचत र लगानी गर्ने अवसर प्राप्त, देशमा रोजगारीको सिर्जना, उत्पादन र बजारीकरणमा सहकारीको भूमिका, महिलाहरूमा सशक्तिकरण, क्षमता अभिवृद्धि, पर्यावरण, कृषि, वन उद्योगको विकास, जलवायु परिवर्तनमा न्यूनीकरण लगायत समाजमा सचेतनामूलक गतिविधिहरूले देशको समृद्धिमा सहकारीले केहि भूमिका खेलिरहेको हामी भुल्नु हुदैन।

हो! सहकारीमा सुशासन, पारदर्शिता र मर्यादित नभएकै देखिन्छ। कतिपय कुरामा नियमन निकायले समय समयमा अनुगमन नगर्दा सञ्चालकहरू सहकारीको मूल्य, मान्यता र सिद्धान्त बाहिर रहेर गतिविधिहरू गरिरहेका हुन्छन्। स्थानीय तहभित्र रहेका सहकारीको नियमन र अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो। एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीको जिम्मेवारी प्रदेशको रह्यो र एक प्रदेशभन्दा बढीमा कार्यक्षेत्रको जिम्मेवारी संघको तोकियो। सबै तहका सरकारले पूर्णरूपमा सहकारीलाई प्राथमिकता दिन सकेनन् र गलत मनसाय भएका केही सहकारी सदस्य नकारात्मक सोचमा लागे। प्रदेश र स्थानीय तहका सरकारले सहकारीलाई नियमन र अनुगमन गर्ने नीति, संरचना र जनशक्तिको व्यवस्थापन समयमै गर्न सकेनन्। केही सहकारी लगामबिना घोडा भए।

सहकारीमा तुरुन्तै सदस्य हुन पाइने र अन्य सदस्यसरह सहकारीका क्रियाकलापमा सहभागी हुने गलत अवधारणाले पनि सहकारीमा समस्या आएको हो। केही सहकारीका सीमित सदस्यहरूले सहकारीलाई पारिवारिक रूपमा सञ्चालन गर्न उत्साहित भएका देखिए। सामान्यतः सहकारीको लेखा परीक्षणमा पनि सामान्य सिद्धान्तको पालना भएन। शेयर सदस्यसम्म सही वित्तीय सूचना पुग्न सकेन। साधारण सभा औपचारिक रूपमा सम्पन्न गरियो। नियमन निकायको समय समयमा अनुगमन हुन सकेन र गलत कार्य गर्नेलाई सजाय र राम्रो कार्य गर्ने सहकारीलाई प्रोत्साहन भएको पाइएन।

संघीय शासनमा तहगत सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न नसक्दा गलत मनसायका मानिसलाई सजिलो भयो। सहकारीमा नैतिक बलको ह्रास, चाडो पैसा कमाउने संस्कृति हावी भयो। एउटा सहकारीमा भएको समस्याको हल्लाले सबै सहकारी प्रभावित भए। पैसाको कारोबार गर्ने इजाजत र नियमन गर्न सामान्य पूर्वाधार पनि नभएका तहगत सरकारलाई दिइयो। सहकारीका विषयमा तहगत सरकारबीच समन्वय र सहकार्यको अभाव देखियो।

यी यावत् समस्या र चुनौतीका बाबजुद पनि धेरै सहकारी सफलताका लागि अहिले संघर्ष गरिरहेका छन्। बचत तथा ऋण सहकारीको क्षेत्रमा मात्र धेरै समस्या देखिएका छन्। हाल बचत तथा ऋण सहकारीको १० प्रतिशतमा मात्र समस्या देखिएका छन्। तर समस्या समाधान गर्न समयमै ध्यान दिइएन भने यसले विकराल समस्या ल्याउन सक्ने देखिन्छ। सहकारीलाई समस्या नभएका सहकारी, जोखिम हुन सक्ने सहकारी र समस्याग्रस्त सहकारीका रूपमा वर्गीकरण गरी तीनै प्रकारका सहकारीका लागि फरक-फरक रणनीति सहित अघि बढ्नुपर्दछ।

सहकारीका चुनौतीहरू सामना गर्न र समस्या समाधान गर्न नियमन निकाय, सञ्चालक र स्वयं शेयर सदस्यको सक्रिय भूमिकाको खाँचो देखिन्छ। चुनौतीहरू सामना गर्न दीर्घकालीन सोच सहित कार्ययोजना र अग्रसरता आवश्यक छ। सही मार्गमा रहेका सहकारीको प्रोत्साहन सहित संरक्षण गर्ने र जोखिमबाट जोगाउन छुट्टै रणनीति सहित अघि बढ्नुपर्ने हुन्छ। ती सहकारीको सिकाइ अरू सहकारीमा पनि जोड्नुपर्छ। समस्या नभएका सहकारीलाई नकारात्मक हल्लाले असर नपर्ने गरी सही सूचना शेयर सदस्यसम्म पुर्याउनु आवश्यक छ। जोखिम हुन सक्ने सहकारीको तथ्यसहितको सूचना संकलन गर्ने र आउन सक्ने जोखिमबारे शेयर सदस्यबीच खुला छलफल गर्ने र सहकारीको प्रतिष्ठाका लागि तरलताको व्यवस्थापन, ऋण असुलीका कार्ययोजना र शेयर सदस्यका लागि सही सूचना प्रवाह गरी जोखिम हुन नदिने वा समस्या न्यूनीकरण गर्न जोड दिन आवश्यक छ।

सहकारीको समस्या आफैंमा छ भन्ने धारणा बन्नुपर्छ। विधि पालना गर्ने, सञ्चालक, शेयर धनी र व्यवस्थापकले जोखिमविरुद्ध रणनीतिसहित अगाडि बढ्ने, क्रियाकलापको पारदर्शिता, जिम्मेवारी बोध गर्ने, शेयर सदस्यप्रति जवाफदेही हुने र उत्तरदायीपूर्ण नेतृत्व चयन गर्ने जस्ता सुशासनका विधिहरू पालनामा लाग्नैपर्छ। मेरो हैन हाम्रो भन्ने मान्यताका आधारमा कार्यकुशलता बढाउने, राजनीति भन्दा व्यवसायिकतामा रमाउने, मितव्ययी व्यवहार, सदाचारिताको आचरण र नैतिक बलमा जोड दिन सके विकृति हराउँदै जानेछ। राम्रो मनसाय भएको व्यक्ति र स्वच्छ सहकार्यता एवं सहभागितामूलक व्यवस्थापनको वातावरण बनाउन सके सहकारी राष्ट्रको दरिलो खम्बा बन्न सक्छ।

अन्तमा, ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
जय सहकारी!

लेखक हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार