
सल्यान, २ बैशाख । सल्यानमा तीन जना बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले कालिमाटी गाउँपालिका ४ का ५८ वर्षीय इन्द्र बहादुर पुनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गएको चैत ९ गते दिउँसो आफ्नै किराना पसलमा सामान किन्न आएका ८ वर्षमुनिका तीन बालिकामाथि पुनले चकलेट र बिस्कुट दिएर ललाइफकाइ जबरजस्ती करणी गरेका थिए ।
उनले बालिकाहरूलाई पसलभित्रै राखेर चक्लेट दिएर ३ बालिकाका गोप्य अंगमा अनुचित ढंगले छोएर जबरजस्ती करणी गरेको भन्ने अभिभावकको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिनुभयो ।
बालिकाहरू सुरुमा डरले घरमा केही नभने पनि उनीहरू अस्वभाविक देखिन थालेपछि अभिभावकहरूले सोधपुछ गरेका थिए । त्यसपछि घटना खुलेको हो । बालिकाले दिएको बयानका आधारमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए।
उजुरीपछि प्रहरीले पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताउनुभयो । पीडित पक्षको उजुरीपछि तत्काल अनुसन्धान अघि बढाएको जनाएको छ । पुनमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।