२०८१ चैत्र १२ गते मङ्गलवार

दाङमा लोपोन्मुख जातिको भाषा र पेशा संकटमा



दाङ, २४ साउन ।
दाङमा लोपोन्मुख जातिको भाषा र पेशा संकटमा परेको छ । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोबास दाङमा नै छ भने कुमाल, कोरी, चमार जस्ता जातिहरूको बसोबास पनि दाङमा देखिन्छ । तर ती जातिहरूको भाषा, पेशा र परम्परा भने संकटमा छ ।

संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र पेशा संकटमा परिरहेको जानकारहरूको भनाइ छ ।

लोपोन्मुख जाति कुसुन्डामा अहिले भाषालाई जीवत राख्ने चुनौती बढ्दै गएको छ । विगतदेखि भाषा संरक्षणका लागि प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिदै गएको अगुवाहरूको भनाइ छ । नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूणर् जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्ष अघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

भाषा संरक्षणका लागि उनको स्थान ओकट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन् । उनीपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताउनुभयो । लमही नगरपालिका वडा नं. ६ कुलमोहर र घोराही उपमहा-नगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा बसोबास गर्दै आएका छन् ।

यस्तै लोपोन्मुख आदिवासी जनजाति कुमाल जातिको परम्परागत पेशा लोप हुन थालेको छ । नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेशामा जोडिन नमानेपछि कुमालेहरूको माटोका भाँडा बनाउने पेशा संकटमा परेको समुदायका अगुवा दिपक कुमालले बताउनुभयो ।

नयाँ-नयाँ पेशा व्यवसाय उनले नयाँ पुस्ता परम्परासँग जोडिन नमान्दा र पुरानो पुस्ताको व्यवसायले बजारीकरण नपाउँदा कुमाल जातिको पेशा संकटमा रहेको खबर प्रदेश टुडे दैनिकमा गोपाल शर्मा भट्टराईले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार