दाङ, २० जेठ ।
दिपक न्यौपानेलाई शनिबार बिहानै साथीभाईको फोन आयो । संगै काम गर्ने साथीभाइले उहाँलाई फोन गर्नुको एउटै कारण थियो, पश्चिम दाङमा रहेको पुरन्धारा छहरामा जाने र बनभोज खाने ।
न्यौपानेले शुरुमा त साथीभाइको आग्रह अस्विकार गर्नुभयो ।तर साथीभाईको धेरै अनुरोध आएपछि उहाँले पनि नाइनास्ती गर्नुभएन र उहाँसाथीभाई संगै रमाउँदै पुरन्धरा छहरा जानुभयो।
छहरामा पुगेपछि बनभोज पनि भयो । साथीभाईले प्रहरीलाई दिएको बयान अनुसार उहाँले बनभोज सकिएपछि शनिबार बेलुका ४ बजेतिर घर फर्किने बेलामा छहराबाट खसेको पानीमा नुहाउने सोच गर्नुभयो ।
तर साथीभाईले मानिरहेका थिएनन् । तैपनि पौडी खेल्न पुग्नुभयो । पौडि खेल्ने क्रममा उहाँ डुब्नुभयो । साथीभाईले उहाँलाई निकाल्न त निकाल्न कोशिस गरे । तर समयमा निकाल्न नसकेपछि उहाँको निधन भइसकेको थियो । खुशीमा रमाउँदै छहरा पुगेका साथीभाईले संगै गएको साथी गुमाउन पुगे ।
न्यौपाने रुकुम पश्चिमबाट दुई दिनअघि बिहिबार मात्रै घरमा फकिनुभयो । बियरको डिलरमा कार्यरत न्यौपानेको घर तुलसीपुर-४ बनहरी हो ।
घरको काम गरेर आइतबार (आज) मात्रै फर्किने योजना बनाउनुभएको थियो । तर पानीमा डुबेर मृत्यु भएपछि उहाँको काममा फर्किने योजना अधुरो भएको छ ।
उहाँका भिनाजु तथा तुलसीपुर-४ का वडा सदस्य दामोदर न्यौपानेका अनुसार श्रीमती र छोरासहित रुकुम पश्चिमबाट फर्किनुभएको थियो ।
आइतबार एक्लै रुकुम पश्चिम फर्किने र एक सातापछि श्रीमती पनि जाने कुरा थियो । तर शनिबार बनभोज गएका न्यौपाने पुरन्धारा छहराबाटै अस्ताउनुभयो ।
उहाँको निधन भएपछि सानो छोरा र श्रीमती शोकमा हुुनहुुन्छ । शबको पोष्टमार्टमपछि परिवारले आजै अन्त्यष्टी गर्ने भएको छ ।