२०८२ माघ ३ गते शनिवार

वेपत्ता नागरिकको खोजीमा राज्य उदासीन



दाङ,१४ भदाै। सरकारले २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्वको अन्त्य गर्दै दुवै पक्षले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर त्यो विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १९ वर्ष पुगिसक्दा पनि उक्त प्रतिबद्धता पूरा हुन सकेको छैन ।

सरकारी तथ्याङ्कअनुसार, दाङ जिल्लाबाट मात्रै १२६ जना मानिसहरु अझै पनि वेपत्ता छन् भने नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्क अनुसार यो संख्या ८२ जना रहेको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय वेपत्ता दिवसका अवसरमा वेपत्ता नागरिकका परिवारले हराएका आफन्तहरुको खोजीमा सरकार गम्भीर नभएको बताएका छन् ।

तुलसीपुर-१५ पहरुवाबाट २०५९ साल भदौ २१ गते चनकलाल चौधरीलाई आफ्नै घरबाट राज्य पक्षका सुरक्षाकर्मीहरूले लगेपछि अहिलेसम्म फिर्ता आएका छैनन् । वेपत्ता रहेका चनकलालका भाई परशुराम चौधरीका अनुसार त्यो दिन दाजु सहित ६ जना घरैबाट राज्य पक्षबाट वेपत्ता पारिएका हुन् । तर अहिलेसम्म दाजुको अवस्थाबारे परिवार बेखबर छ ।

तुलसीपुर-१५ कै सोमराज चौधरी घर फर्कने आशामा उनको परिवार विश्वस्त छ । २५ वर्षको उमेरमा २०५९ भदौ २१ गते घरमा गुरही पूजा गरेर स्थानीय चौवा खोलामा पूजा गर्न गएका थिए । त्यही बेला उनी खोलाबाटै वेपत्ता भएको उनकी श्रीमती रतिकलामति चौधरीले बताउनुभयो । त्यो दिन सोमराजसहित गाउँका ८ जना वेपत्ता भएका थिए । दुई जना केही समयपछि परिवारको सम्पर्कमा आए पनि सोमराजसँगै हराएका ६ जना अहिले सम्म कसैको अत्तोपत्तो छैन परिवारलाई । तर सोमराज फर्कने आशामा बसेको छ रतिकलामतिको परिवार ।

घोराही उपमहानगरपालिका-११ जितपुरकी मञ्जु चौधरी १८ वर्षकी थिइन् । २०५९ साल जेठ २ गते साँझ नजिकैको गाउँमा पूजाको निम्तोमा गएकी उनी कहिल्यै घर फर्किन सकिनन् । उनका दाजु फलेराम चौधरी वहिनीलाई सम्झँदै, राज्य पक्षले वेपत्ता पारेको २३ वर्ष बितिसक्दा समेत आफूहरूले न्याय नपाएको बताउनुहुन्छ ।

तुलसीपुर-१५, गब्दवाका सुर्जी चौधरीका श्रीमान लक्ष्मण चौधरी र छोरा टेकबहादुर चौधरी पनि २०५९ साल भदौ २१ गते एकैदिन घरैबाट वेपत्ता भए । छोरा ६ महिनापछि बल्लतल्ल घर आइपुगे पनि श्रीमान भने अहिलेसम्म वेपत्ता हुनुहुन्छ । राज्यले सान्त्वना मात्र दिने तर वेपत्ता भएका नागरिकको अवस्था जानकारी दिन नसक्दा पारिवारिक पीडा त छदै छ, विभिन्न समस्या भोग्नुपरेको दुःखेसो पोख्नुभयो । श्रीमान वेपत्ता भएपछि मृत्यु दर्ता समेत उहाँले गराउन सक्नुभएको छैन । जसका कारण राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गर्न नसकेको बताउनुभयो।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुगिसक्यो, तर राज्यले वेपत्ता नागरिकबारे कुनै ठोस कदम चाल्न सकेको छैन । समयमै न्याय नदिनु आफैंमा अन्याय हो । यही कारण फेरि विद्रोह हुने अवस्थाको सिर्जना राज्यले नै तयार गरेको द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले बताउनुभयो । सरकार गम्भीर बनेर वेपत्ता पारिएका हरुको खोजीमा लाग्नुपर्ने जिम्मेवारीबाट पन्छिन खोजेको समेत आरोप लगाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले पीडित परिवारलाई लक्षित कार्यक्रममार्फत आय–आर्जनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै त्यस्ता कार्यमा जोडिन आग्रह गर्नुभयो । साथै सो परिवारलाई निःशुल्क शिक्षा प्रदान पालिकामार्फत समन्वय भएर कार्यान्वयन गरिएको जानकारी दिनुभयो । सो अवसरमा बेपत्ता नागरिकहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरिएको थियो।

द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडक्रस दाङका मन्त्री प्रकाश श्रीवन्दले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार