१२ जेठ, तुलसीपुर ।
गोधूलि साहित्य प्रतिष्ठानबाट प्रदान गरिने ‘गोधूलि वर्ष कृति पुरस्कार-२०७८ युवा गजलकार वसन्त ओली वसन्तीको गजल कृति ‘बोइ’लाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको मंगलबार बसेको बैठकले उक्त निणर्य गरेको हो ।
नगद १०,०००/- राशि सहितको यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको संस्थाका अध्यक्ष प्रकाश समीरले जानकारी दिए । सर्वाधिक चर्चामा रहेका कृतिहरु मध्यबाट छनोट गरेर एक कृतिलाई यो पुरस्कार हरेक वर्ष प्रदान गरिने पनि समीरले बताए ।
वसन्तका यसअघि तिर्सना (उपन्यास) कोशेली (संयुक्त मुक्तक संग्रह), इन्द्रेणी (संयुक्त गजल संग्रह) प्रकाशित छन् । प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको अभिनन्दन, सम्मान तथा पुरस्कार वर्ष २०७८ पाउने व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले हरेक वर्ष नेपाली भाषा, कला, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानले वर्ष २०७८ बाट विभिन्न विधामा पुरस्कृत र सम्मानित हुने व्यक्तित्वहरू नाम सार्वजनिक गरेको हो ।
गोधूली दीर्घ साहित्य-सिर्जना विशेष अभिनन्दन (२०७८)- वरिष्ठ कवि डा. दुबसु क्षेत्री, गोधूलि-भानुभक्त पोखरेल बाल साहित्य सम्मान- (२०७८), बाल साहित्यकार निर्मला बराल, गोधूलि भद्रकुमारी घले आदर्श आमा पुरस्कार (२०७८) (नगद १०,०००/- राशिसहित) समाजसेवी पशुपति गुरुङ, गोधूलि कला सम्मान (२०७८) – कलाकार घनश्याम गौतमलाई प्रदान गर्ने भएको छ ।
त्यस्तै, प्रतिष्ठानले गोधूली समाजसेवा सम्मान (२०७८) – उर्मिला बि.क. र बिना बस्नेत, गोधूली युवा सिर्जनशील सम्मान (२०७८) – भूपेन बि.क. र रोशन बिशंखे, गोधूली-कुमारमान मास्के स्मृति सम्मान (२०७८) – गणेश लकान्द्री र भाईराम खड्गी, गोधूलि-चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार (२०७८) – बाल कलाकार प्रसन्न श्रेष्ठ (नगद रु २,५५५/- राशिसहित) र गोधूलि सेवा सम्मान (२०७८) – पवनलाल श्रेष्ठलाई प्रदान गर्ने जनाएको छ ।
अभिनन्दन, सम्मान तथा पुरस्कार जेठ १५ गते आइतबार प्रतिष्ठानको बार्षिक उत्सवका अवसरमा प्रदान गरिने छ । प्रतिष्ठानको वार्षिक उत्सव तथा साधारण सभा जेठ १५ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जनाइएको छ ।
विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहेको गोधूलि साहित्य प्रतिष्ठानले साहित्य, कला, सङ्गीत र समाजसेवाका क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ साधक तथा नवोदित प्रतिभालाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।