
सल्यान, २० असार ।
सल्यानमा ११ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनामा सल्यानमा १ सय १० सवारी दुर्घटनामा परेका छन् । विभिन्न किसिमका सवारीसाधन दुर्घटना हुँदा ३१ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी २ सयभन्दा बढी घाइते भएका छन् भने जसमा ५० जना गम्भीर घाइते भएका छन् । सम्बन्धित निकायले बारम्बार सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सडकको दुरावस्था, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र पुराना गाडी भएकाले दुर्घटना नरोकिएको जिल्ला ट्राफिक कार्यालय सितलपार्टीका ईन्चार्ज थमन डाँगीले बताउनुभयो ।
यस बर्षको १० महिनामा बस १७, ट्रक १०, ट्याक्टर १५, जिप र कार २८ मोटरसाइकल ३६ र अन्य ११ सवारी दुर्घटनामा परेको बताउनुभयो । उहाका अनुसार गत वर्ष १ सय ४३ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । यो वर्ष दुर्घटनामा केही कमी देखिए पनि मृत्यु हुनेको संख्या झन्डै तेब्बरले बढेको छ ।।