
दाङ, २५ असार ।
नेपालका बिभिन्न स्थानमा देखिएको नाईरोबी फ्लाई किराको संक्रमण दाङमा पनि देखिन थालेको छ । किराको संक्रमण तुलसीपुरका तीन ब्यक्तिमा देखिएको छ । ती व्यक्तिमा एसिडले पोलेको जस्तो हुने, दाग देखिने, जनै खटिरा जस्तो फोका आउने, रातो दाग सहितको एलर्जीको समस्या देखिएको हो ।
तुलसीपुर १० राईखलियानका ३ जनामा यस्तो समस्या देखिएको हो । राती सुत्दा केहि नभएको तर बिहान उठ्दा रातो दाग देखिएको र चिलाउदा जनै खटिरा जस्तै आकार लामो हुदै गएको अर्पण आचार्यले बताउनुभयो । यो समस्या गाउँका अन्य दुई जनालाई पनि देखिएको छ ।
डाक्टरले भने यो किराले टोक्दा अथवा सम्पर्कमा आउदा त्यसमा रहेकोे एक प्रकारको रसायनका कारणले हुने बताएका छन् । छाला रोग विशेषज्ञ डाक्टर प्रताप पोखरेले यो सामान्य एलर्जि भएको र त्यती आत्तिनु नपर्ने बताउनुभयो । शरिरमा बढी मात्रमा फैलिएमा भने नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस्तो समस्या बर्षेनी देखिदै आएको भएपनि यो बर्ष बढी देखिएको पाईएको छ ।
उहाँले यो किरा बिशेष गरेर रातको समयमा देखिने भएकाले रातमा सुत्दा राम्रोसँग झुल लगाएर सत्न, पुरै शरिर छोपिनेगरि कपडा लगाएर सुत्न समेत सुझाब दिनुभएको छ । यो किरा अफ्रिकी मुलुकहुदै नेपाल प्रबेश गरेको जानकारहरु बताउछन् । नाईरोबी फ्लाई बिटर्स प्रजातीको किटानु रहेको किराको संक्रमण भयावह बन्न थालेकोले सावधान अपनाउन डाक्टरको सुझाव छ ।